ओलीलाई नागरिकता विधेयकको विरोध गर्ने नैतिकता नभएको प्रचण्डको दाबि

Bhugolpark

७ बैशाख, २०८१,०६:११

प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई नागरिकता विधेयकको विरोध गर्ने कुनै नैतिकता नभएको पनि बताए । 

‘हिजो राज्य व्यवस्था समितिबाट त्यसलाई बहुमतले पारित गरिसकेपछि म र राज्य व्यवस्था समितिको सभापति समेत पटक–पटक केपी ओलीलाई वैवाहिक अंगिकृतसहित लैजाउ सदनमा भन्दा मान्नुभएन । ६ महिनासम्म रोक्नुभयो’, प्रचण्डले भने, ‘अन्ततः यही कुरालाई अध्यादेशमार्फत ल्याउने कुनै तुक, आधार र नैतिकता छैन ।’  

त्यो नैतिकता नभएपनि एमालेले नागरिकता विधेयकको विरोध गरिरहेको प्रचण्डको भनाइ छ ।  अध्यक्ष प्रचण्डले दुवै सदनबाट पारित भैसकेको उक्त विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगरेकोमा असन्तुष्टि जनाए ।

‘सामान्यतया दुवै सदनबाट पारित भैसकेपछि राष्ट्रपतिले त्यसलाई पारित गर्नुपर्दथ्यो, पहिले गर्नुभएन र फिर्ता पठाउनुभयो’, प्रचण्डले भने, ‘संविधानले राष्ट्रपतिलाई एकपटक यस्ता विधेयकहरुमा चित्त बुझेन भने हेर भन्ने अधिकार नै छ ।’ प्रचण्डले फेरि दोस्रो पटक दुवै सदनबाट गैसकेपछि अब यताउता गर्ने अधिकार नभएको बताए ।   

‘दोस्रो पटक दुवै सदनबाट गैसकेपछि अब राष्ट्रपतिलाई यताउता गर्ने अधिकार छैन । त्यसकारण हामी आशा गर्छौ यो पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नुहुनेछ’, प्रचण्डको विश्वास छ । नागरिकता विधेयक प्रमाणीकरण गरेर लाखौं नेपालीलाई राष्ट्रपतिले बचाउनुपर्ने पनि प्रचण्डको भनाइ छ ।

उनले शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक पनि संसदमा पुगेको भन्दै छिटै टिआरसी सम्बन्धि विधेयकलाई पनि सहमतिबाट अघि बढाउने तयारी भइरहेको बताए ।  


116 Views

Comments