दशतिर टाउको फर्किएका पार्टीहरू मिलेर बनेको सरकार जुनसुकै बेलामा ढल्न सक्छ

१९ बैशाख, २०८१,१२:५९

२३ चैत्र, काठमाडौँ । पूर्वसचिव भीम उपाध्यायले देश र जनाताको पक्षमा कलम चलाएर नेतालाई खवरदारी गर्दै जनतालाई हक र अधिकारको बारेमा सुसूचित गर्ने गर्नुभएको छ । निजामति सेवाबाट अवकास पाएपछि अहोरात्र परोपकारी काम र समाजसेवामा तल्लिन हुनुहुन्छ । सरल स्वभाव भएका मुर्धन्य व्यक्ति एवं इन्जिनीयर पूर्वसचिव भीम उपाध्यायसँग भूगोल पार्कका समाचारदाता करुण सिंहले “सांसदसँग समकालिन संवाद” मा गरिएको कुराकानीका सम्पादित अंश :

प्रधानमन्त्री प्रचण्ड सरकारको आयु कति होला ?

दशतिर टाउको फर्किएका पार्टीहरू मिलेर बनेको सरकार भएकाले जुनसुकै बेलामा यो सरकार ढल्न सक्छ । न यिनीहरूको नीति तथा कार्यक्रम मिल्छ न त देश र जनताको पक्षमा काम गर्ने शैली नै । वर्तमान व्यवस्थामा कहिलै पनि एउटा पार्टीको बहुमत आउँदैन् । चुनाव पूर्व सिद्धान्त मिल्ने पार्टीहरू एक भएर चुनाव लडेर जनताको सेवा गर्न अभरुची देखाउँन सकेको खण्डमा भने एकल सरकार पनि बन्न सक्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा नगएको भए देशमा चुनाव हुने सुनिश्चित थियो । ठूला दलहरू पनि तत्काल चुनावमा जान डराएको बेलामा रास्वपाले जनसरोकारको विषयमा काम गर्न सक्छौँ कि भनेर सरकारमा गएको हुनसक्छ । रास्वपा सरकारमा जानुलाई सकरात्मक रुपमा लिनुपर्छ । तपाई मोटरसाइकल चढ्नुहुन्छ कि कार । त्यसैको आधारमा मर्मत सम्भार खर्च निस्किन्छ । हाम्रो जस्तो सानो गरिव देश नेपालमा संघीयता भन्नाले साधारण कार नभएर विएमडब्लु,फरारी कार जस्तै हो । जसको मर्मत सम्भार गर्नकै लागि धेरै रकम खर्च गर्नुपर्छ । संघीयता उत्कृष्ट व्यवस्था भएपनि साधारण खर्च धेरै हुन्छ ।

साधारण खर्च कटौती गर्न भ्रष्टचारमा शुन्य सहनशीलताको नीति अवलम्बन गर्नु पर्छ । त्यसको लागि सिष्टमले काम गरेको हुनुपर्छ । भ्रष्टचारको अन्त्य गरी सुशासनको प्रत्याभूति आम जनतालाई गराउँनुपर्छ । साधारण खर्च कम गरेर पूँजिगत खर्चमा वृद्धी गर्न सकेमात्र देश विकासले छलाङमार्छ । अन्यथा संघीयता ठूला दलहरूकै लागि अभिसाप हुने देखिन्छ । सामाजिक सञ्जालको प्रयोगले गर्दा नेताहरूले ठूला दलहरूको फोस्रा भाषणलाई पत्याउँनै छोडिसकेका छन् । जनतामा नयाँ दलप्रति भने आशा र भरोसा बाँकी रहेको देखिन्छ ।

भ्रष्टचारको अन्त्य कसरी गर्न सकिन्छ ?

भ्रष्टचारलाई निर्मूल पार्न वा कम गर्न ‘चेक एण्ड ब्यालेन्स’ हुनुपर्छ । भ्रष्टचार कम गर्न माहोल कस्तो छ, त्यसमा भरपर्छ । माहोल राम्रो भए सिष्टमले काम गर्छ र भ्रष्टचारलाई न्यूनीकरण गर्न सकिन्छ । अन्यथा माहोल राम्रो नभए राम्रो मानिसले पनि काम गर्न सक्दैन । भ्रष्टचारलाई निर्मूल पार्न वा कम गर्न सिष्टम राम्रो हुनुपर्छ । भ्रष्टचार मौलाउँनुमा नेपालको चुनावी प्रकृया, जनता मासुभात वा लोभलालचमा बिक्नु र टीकट पाउँनकै लागि ठूलो रकम खर्च गर्नु आदि कारण देखिन्छ । चुनाव जित्न धेरै धनराशीको खर्च गर्ने गरेकाले चुनाव जितेपछि कार्यकर्ता पाल्न र चुनावी खर्च असुल्नकै लागि पनि सांसददेखि मन्त्रीसम्मले भ्रष्टचार गर्ने गर्छन् र त्यसको फाइदा कर्मचारीहरूले पनि लिने गर्छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजिनामा किन नेपाली कांग्रेसले मागी रहेको होला ?

सहकारी ठगी प्रकरणमा दोषि देखिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजिनामा माग्नु राजनीति हो । प्रतिपक्षको धर्म भनेकै सरकार गिराउँनु हो । सबै ठूला दलका नेताहरूको विभिन्न अदालतमा मुद्दा विचाराधिन अवस्थामा छन् । बरू नयाँ दलहरूको विभिन्न अदालतमा विचाराधिन मुद्दा कम देखिन्छन् । त्यसैले हुनुपर्छ, ठूला दलहरूले भनेको जनताले पत्याउँनै छाडिसकेका छन् । नयाँ दलप्रति आशा र भरोसा बाँकी रहेको देखिन्छ । संसदबाट समयमा नै पासहुनुपर्ने जनसरोकारका विधेकहरू नगन्य रुपमा पास हुने गरेको छ । दलहरू अधिकांश समय कसरी सरकारमा जाने र सरकार गिराउँने खेलमा लागेका छन् । त्यसैले रविको विषयमा भन्नुपर्दा रविलाई क्लिन चिट दिने वा दोषि करार गर्ने काम अदालतको हो राजनीतिक दलको हैन् ।

रास्वपाका मन्त्रीहरूको काम कस्तो लाग्छ ?

अहिलेसम्म रास्वपाका मन्त्रीहरूले गलत काम गरेको चर्चामा आएको छैन् वा देखिएको छैन् । सरकारमा गएको छोटो समयमा नै समिक्षा गर्न हतार हुन्छ । राष्ट्रिय हितलाई सर्वोपरि ठानी उनीहरूले आफ्नो मन्त्रालय मातहातमा विद्यार्थी र कर्मचारीलाई राजनीति गर्न दिनु हुँदैन र राजनीतिक नियुक्ति नगरी योग्यता र दक्षताको आधारमा मातहतको निकायमा नियुक्ति दिनुपर्छ । उनीहरूलाई राजनीतिक हस्तक्षेप नगरी स्वतन्त्र पूर्वक काम गर्न दिनुपर्छ । सरकारमा गएका रास्वपाका मन्त्रीहरूले कुनै दवाव र प्रभावमा नपरी काम गर्ने प्रयत्न गर्नुपर्छ । काम गर्न दिएनन् भने सरकार छोडेर जनतामा जानुपर्छ । जनताको काम गर्न सरकारमै हुनुपर्छ भन्ने छैन् । सडक र सदनमा जनताका आवाज उठाएर जनतालाई सम्बोधन गर्न लगाउँन पनि सकिन्छ । नयाँले राम्रो काम नगरे अरु नयाँलाई जनताले रोज्दै जानेछन् । उहाँको अन्तर्वार्ताको बाँकी भाग क्रमश: सम्पादन गरिनेछ । पढ्न नभूल्नुहोला ।



244 Views

Comments