४ चैत, काठमाडौँ ।प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । सभामुख देवराज घिमिरेले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभएको हो । बैठकमा स्वर्गीय अन्सारीको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । अन्सारीको ६० वर्षको उमेरमा आज उपचारका क्रममा नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा हृदयघातका कारण निधन भएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विसं २०७९ चैत १९ गते प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित अन्सारीले विसं २०४६ को जनआन्दोलनबाट राजनीतिक यात्रा सुरुवात गर्नुभएको थियो । अन्सारी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज हुनुहुन्थ्यो । उहाँ जसपाको पोलिटब्युरो सदस्यसमेत हुनुहुन्थ्यो ।
उहाँको निधनप्रति बैठकले शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदन प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक सोमबार ११ बजे बस्ने भएको छ ।
प्रतिनिधिसभा सदस्य स्वर्गीय मञ्जु शर्मा अन्सारीको चिरशान्तिको कामना गर्दै भूगोलपार्क परिवारको तर्फबाट हार्दिक समवेदना ।
Comments