रूसी माध्यमबाट सेनाको गोप्य वार्ता चुहावटबारे छानबिन गर्ने जर्मनीको प्रतिवद्धता

१० बैशाख, २०८१,१६:४८

बर्लिन, २० फागुन (रासस/एएफपी) :

यूक्रेन युद्धबारे सेनाको गोप्य वार्ताको रेकर्डिङ रूसी सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जर्मनीका चान्सलर ओलाफ सोल्जले यसको पूर्ण छानबिन गर्ने प्रतिबद्धता शनिबार जनाउनुभएको छ । जर्मनीको रक्षा मन्त्रालयका प्रवक्ताले एएफपीसँग कुरा गर्दै वायु सेनाको प्रभागमा भएको कुराकानी ‘चोरिएको’ विश्वास मन्त्रालयले गरेको बताउनुभएको छ । जर्मनीले आफ्ना अधिकारीहरूले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने र सम्भावित निशानाहरूबारे छलफल गरिरहेको सैन्य बैठक रूसको ‘ह्याकिङ’मा परेको स्वीकार गरेको हो । भिडिओ सम्मेलनमार्फत् भएको बैठकको श्रव्य सामग्री रूसको सरकारी च्यानल आरटीकी प्रमुखले मार्गरिटा सिमोनियानले शुक्रवार सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो ।

अधिकारीहरूले गैरकानुनी रूपमा गाभिएको क्रिमिया र रूसलाई जोड्ने केर्च पूललाई कसरी ती क्षेप्यास्त्रहरूले निशाना बनाउन सक्छन् भन्ने छलफल गरिरहेका श्रव्य सामग्रीमा सुन्न सकिन्छ । रूसी नेताहरूले उक्त श्रव्य सामग्रीले ‘सधैँ घृणा गरिरहने शत्रु’ ले आक्रमणको योजना बुनिरहेको प्रमाणित गरेको उल्लेख गरेका छन् । जर्मनीका चान्सलर ओलाफ सोल्सले चुहावट जस्तो देखिने उक्त घटना ‘ज्यादै गम्भीर भएकाले सावधानीपूर्वक, गहन र ज्यादै द्रूत ढङ्गले अनुसन्धान’ अघि बढाइएको बताउनुभएको छ । डेर स्पीगल म्यागजिनका अनुसार उक्त भिडियो सम्मेलन कुनै गोप्य आन्तरिक सैन्य नेटवर्कमा नभई वेबएक्सको प्ल्याटफर्ममा आयोजना गरिएको थियो । उक्त रेकर्डिङमा युक्रेनी फौजहरूले जर्मनीमा बनेको टोरस क्षेप्यास्त्रहरूको प्रयोग गर्ने सम्भावना र त्यसको सम्भावित असरबारे छलफल गरिरहेको सुन्न सकिन्छ ।

जर्मन रक्षा मन्त्रालयका प्रवक्ताले भन्नुभएको छ, “सामाजिक सञ्जालमार्फत बाहिरिएको उक्त सामग्री रेकर्ड गरिएको वा लिपीवद्ध स्वरूपमा रूपान्तरण गरिएको हो वा होइन भनेर हामी अहिले भनिहाल्न असमर्थ छौं । अनुसन्धान भइरहेको छ ।” उक्त श्रव्य सामग्रीमा फ्रान्स र बेलायतले कीभलाई उपलब्ध गराएको क्षेप्यास्त्रको प्रयोगबारे पनि छलफल भएको छ । कीभले लामो समयदेखि जर्मनीलाई ५०० किलोमिटर (३०० माइल) टाढासम्म पुग्न सक्ने टोरस क्षेप्यास्त्र उपलब्ध गराउन आग्रह गर्दै आएको छ । सोल्सले हतियार आपूर्तिले द्वन्द्वलाई थप बढाउने चिन्ता व्यक्त गर्दै अहिलेसम्म क्षेप्यास्त्र पठाउन अस्वीकार गर्दै आउनुभएको छ । उहाँले शनिबार रोम भ्रमणका क्रममा भन्नुभयो, “जे रिपोर्ट भइरहेको छ, त्यो निकै गम्भीर विषय हो र यसैकारण यसको अहिले निकै सावधानीपूर्वक, धेरै गहन र छिटो अनुसन्धान भइरहेको छ ।”

जर्मनीको प्रसिद्ध प्रसारक एआरडीले यो चुहावट जर्मन गुप्तचर सेवाका लागि ‘विपत्ति’ भएको बताएको छ । शनिबार टर्कीमा आयोजित एक कूटनीतिक मञ्चमा बोल्दै रूसी विदेशमन्त्री सेर्गेइ लाभरोभले यूक्रेन र उसका समर्थकहरूले आफ्नो बाटो परिवर्तन गर्न नचाहेको र युद्धभूमिमा रूसलाई रणनीतिक पराजय दिन चाहेको सङ्केत उक्त रेकर्डिङले दिएको बताउनुभयो । रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले जर्मनीलाई छलफलबारे तत्काल स्पष्टीकरण उपलब्ध गराउन माग गर्नुभएको छ । उहाँले भन्नुभयो, “प्रश्नको जवाफ नदिने प्रयासलाई अपराध स्वीकार्नु मानिनेछ ।”

रूसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदभेदेवले टेलिग्रामपोस्टमा लेख्नुभएको छ, “हाम्रा पुराना प्रतिद्वन्द्वी (जर्मन) हरू फेरि हाम्रा शत्रुमा परिणत भएका छन् । रूसको आक्रमण रोक्न संघर्ष गरिरहेको कीभलाई जर्मन टोरस क्षेप्यास्त्रहरूको आपूर्तिले युक्रेनलाई रूसविद्धको लडाईमा ठूलो प्रोत्साहन प्रदान गर्नेछ । फ्रान्स र बेलायतले कीएभलाई करिब २५० किलोमिटर मार हान्ने क्षमता रहेका ‘स्क्याल्प र स्टॉर्म स्याडो’ क्षेप्यास्त्र आपूर्ति गरेका छन् भने जर्मनीले टोरस दिएमा कीभले आफूलाई ५०० किलोमिटर टाढासम्म मार हान्न सक्नेछ र यसले रूसविरूद्धको युक्रेनको प्रतिरोधलार्ई मजबुत बनाउनेछ ।



99 Views

Comments