माध्यमिक तह (कक्षा १२) को परीक्षामा आधाभन्दा बढी परीक्षार्थी एनजी (नन ग्रेडेड)मा परेका छन् । राष्ट्रिय परीक्षा बोर्ड,..." />
यसपालिको कक्षा १२ को नतिजा किन निराशाजनक?

Bhugolpark

७ बैशाख, २०८१,१५:४७

माध्यमिक तह (कक्षा १२) को परीक्षामा आधाभन्दा बढी परीक्षार्थी एनजी (नन ग्रेडेड)मा परेका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार एक लाख ८८ हजार ४१० जना नन ग्रेडेड छन् ।

यो कुल परीक्षार्थीको ५१.९० प्रतिशत हो ।   यो नतिजा निराशाजनक भएको शिक्षाविद् प्रा.डा. लक्ष्मण ज्ञवाली बताउँछन् । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुले भविश्य लक्षित विषय रोजेर भएकाले एनजी आउनेको संख्या बढी हुनु निराशाजनक लागेको उनको भनाइ छ ।

भन्छन्, ‘कुन विषय पढ्दा म के हुन्छु अथवा कति मिहिनेत गरेर पढ्नुपर्छ भन्ने चेतना हुने भएकाले यो नतिजा निराशाजनक नै हो ।’ यद्यपि विषयगत नतिजा हेरेर मात्र थप विश्लेषण गर्न सकिने उनी बताउँछन् ।  

लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङक ल्याउनुपर्नेछ । तोकिएको अङक भन्दा कम अङ्क ल्याएकाको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) लेखिने छ ।  

परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा १२ को परीक्षामा ३ लाख ६३ हजार ८ जना परीक्षार्थी सहभागी थिए ।   एक लाख ८८ हजार ४१० जना नन ग्रेडेड छन् । उनीहरुमध्ये एक लाख ३० हजार ८७८ जनाले ग्रेडवृद्धिका लागि परीक्षा दिन सक्नेछन् ।

दुई विषयसम्म नन ग्रेडेड ल्याएकाले परीक्षा दिन पाउनेछन् भने दुई भन्दा बढी विषयमा नन ग्रेडेड ल्याएको अवस्थामा अर्को वर्ष सबै परीक्षा दिनुपर्छ । यसरी हेर्दा ५७ हजार ५३२ जना विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्नेछ । आधाभन्दा बढी परीक्षार्थीको नजिता नन ग्रेडेड आउँदा पनि विगतको भन्दा तल नझरेको बोर्डका अध्यक्ष महाश्रम शर्मा बताउँछन् । भन्छन्, ‘समग्र नतिजाले विगतको ट्रेन्डलाई पछ्याएको छ ।

त्यसैले यसलाई हामीले अन्यथा लिएका छैनौं ।’ यद्यपि यसमा सन्तुष्टि मान्ने अवस्था नभएकाले अर्को वर्ष शैक्षिक गुणस्तर उकास्नको लागि धेरै मिहिनेत गर्नुपर्ने नतिजाले देखाएको बताए ।   कोभिड–१९ को तस्रो लहरका कारण २०७७ सालको परीक्षा होम सेन्टरमा सञ्चालन भएको थियो ।

२०७८ सालमा सार्वजनिक भएको नतिजामा ७ हजार ६३ जना विद्यार्थीले ३.६ जीपीए कटाएका थिए । यो वर्ष बोर्डले केन्द्र तोकेर परीक्षा सञ्चालन गर्दा ३.६१ देखि ४ जीपीए ल्याउने ४ हजार १७९ विद्यार्थी छन् ।  

ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको नतिजा अक्षराङ्कन पद्धति अनुसार नतिजा प्रकाशन गरिएको र नियमिततर्फको परीक्षार्थीको लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक भएको छ । यो निर्देशिका अनुसार सैद्धान्तिकतर्फको अंकमा प्रयोगात्मक अंक जोडेर मात्र विद्यार्थीको ग्रेडिङ निकालिन्छ ।  

कार्यालयको अनुसार आंशिकतर्फ पनि जम्मा ४१.१२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । सहभागी ३ हजार १३२ जना मध्ये १ हजार २८८ जना मात्रै उत्तीर्ण भएको जनाएको छ ।   ४३ जनाको परीक्षाफल रद्द  परीक्षा नियन्त्रण कार्यालयले नियमिततर्फ ३८ जनाको, ग्रेडवृद्धितर्फ ३ जना र आंशिकतर्फ २ जना गरी ४३ जनाको परीक्षाफल रद्द गरेको जनाएको छ ।  

४२ जनाको चालु खण्डको सम्पूर्ण विषयको परीक्षाफल रद्द गरिएको र एक जनाको चालु खण्डको सम्पूर्ण विषयको परीक्षाफल रद्द गर्नुको साथै थप एक वर्ष बोर्डले सञ्चालन गर्ने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको बोर्डले जनाएको छ ।  


157 Views

Comments