१२ फागुन काठमाडौँ । आज बिहानैदेखि श्रीस्वस्थानी माताको व्रत समापन गर्न साँखुको शालीनदीमा श्रद्धालु र व्रतालुको भीड लागेको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी पर्मेश्वरीको व्रत आज समापन हुँदैछ । माघ शुक्ल पूर्णिमा दिन व्रतालुले नुहाएर हातको नङकाटी, एक भक्ति र एक चित्तरहि मध्यान्हमा देवाधिदेव महादेको पूजा गर्ने गर्छन् ।यसैगरी पूजा विधिमा दीप-कलश-गणेशको पूजा गरी अष्ट दलमा अष्टमातृकासहित श्रीस्वस्थानी माताको पूजा –अर्चना गर्नुपर्छ ।
देवाधिदेव महादेवसहित श्रीस्वस्थानी माताको पूजा –अर्चना गरी अर्घ दिई विधिपूर्वक गर्नाले मनोकांक्षा पूर्ण हुने जनविश्वास गरहेको छ । समापनको पूजामा अक्षता, बेलीपुष्प, जनै, रोटी, पान, सुपारी र मौसमअनुसारको फलफूल एवं बत्ती १०८ को संख्यामा चढाउने विधान रहेको छ ।
यसरी चढाएको नैवैद्यमध्ये आठ रोटी, आठ पान, आठ सुपारी र फल श्रीमान वा छोरा वा मितछोरालाई दिई १०० रोटी व्रतालुले खाने र रातमा जाग्रम बसी बिहान नदीमा गई आफूले कामना गरेको कुरा पूरा होस भनी श्रीस्वस्थानी माताको पूजा –अर्चना गरी समापन गरिन्छ ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले श्रीस्वस्थानी पर्मेश्वरीको व्रत गर्नाले भगवान श्रीमहादेव स्वामी पाएकी भन्ने किंवदन्तिअनुसार हिन्दुधर्मावलम्बी महिलाहरू व्रत बस्ने गर्दछन् ।
Comments