सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता परिवर्तन

१२ माघ, २०८०,१४:०३

१२ माघ, काठमाडौँ । सुदूरपश्चिम प्रदेशस्थित माओवादी केन्द्रका संसदीय दलका नेताबाट खगराज भट्टलाई संसदीय दलको नेताबाट हटाएर नयाँ संसदीय दलको नेतामा मानबहादुर धामीलाई चयन गरेको छ ।

शुक्रबार धनगढीमा बसेको संसदीय दलको बैठकको दुईतिहाइ बहुमतले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेताबाट भट्टलाई हटाएर नयाँ संसदीय दलको नेतामा धामीलाई चयन गरेको प्रदेश सभाका सांसद अक्कल रावलले जानकारी दिए ।

‘आज बसेको दलको बैठकमा मतदान हुँदा भट्टको पक्षमा ४ र धामीको पक्षमा ७ मत पर्यो । धामी दुईतिहाइ बहुमतबाट दलको नयाँ नेता चयन हुनुभयो’, उनले बताए ।

नयाँ संसदीय दलका नेता धामी दार्चुलाबाट निर्वाचित हुन् । उनी पहिलो कार्यकालमा वनमन्त्रीसमेत वनेका थिए । सुदूरपश्चिममा माओवादी अहिले २ मन्त्री र १ राज्यमन्त्रीसहित गठबन्धन सरकारमा छ । मुख्यमन्त्री बन्ने लाइनमा रहेका भट्टलाई दलको नेताबाट नै हटाइएको छ ।



259 Views

Comments