भन्सारको महानिर्देशकले ‘सेटिङ’ भत्काउने काम भएको छ भनेकै दिन समातीयो सुन !

७ माघ, २०८०,१६:२२

त्रिभुवन विमानस्थलबाट आधाकिलो सुनसहित एक जना पक्राउ भएका छन् ।

७ माघ, काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आधाकिलोग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले कतारको दोहाबाट नेपाल आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आज दिउँसो विमानस्थलबाट पक्राउ गरेको हो । कार्यालयका प्रमुख डा टोकराज पाण्डेले कतारको दोहाबाट तरल पदार्थ बनाएर तस्करी गरी ल्याएको ४९९ ग्राम सुनसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।

हिमालय एअरलाइन्सको एच नाइन ५६४ नम्बरको उडानबाट कतारको दोहादेखि काठमाडौँ आएका दर्जीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको डा पाण्डेले बताउनुभयो । बरामद् भएको सुन दर्जी आफैँले ल्याएका हुन् या सुन ल्याइदिनका लागि उनी कसैको भरिया भएका हुन् भन्नेबारेमा आवश्यक अनुसन्धान भइरहेको पाण्डेले बताउनुभयो ।

अर्कोतर्फ भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले विभिन्न भन्सार नाकाबाट हुने अवैध चोरी, निकासी तथा पैठारी रोक्न तस्करहरुको ‘सेटिङ’ भत्काइएको बताउनुभएको थियो । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज विभागले आयोजना गरेको ‘आर्थिक पत्रकारसँग भन्सार प्रक्रिया तथा सुधार’ विषयक अन्तक्रिया कार्यक्रममा उहाँले भन्सार नाकाबाट हुने सबै अवैध गतिविधि रोक्न नसकिए पनि तस्करको जालो भत्काउन विभाग केही हदसम्म सफल भएको दाबी गर्नुभएको थियो ।

यद्यपि सुनलगायतका वस्तु अवैधरुपमा भित्रिरहेकामा त्यसलाई पूर्णरुपमा नियन्त्रण गर्न भने नसकिएको उहाँले स्वीकार गर्नुभएको थियो । “भन्सार कार्यालयमा हुने विभिन्न खालका सेटिङ भत्काउने काम भइरहेको छ, तर तस्करहरु एक कदम अगाडि छन्, उनीहरू हाम्रा कमजोरी हेरेर योजना बनाउँछन्”, पौडेलले भन्नुभएको थियो ।

अवैध वस्तु भन्सार छलेर कसरी सजिलै भित्रिन्छन् ? भन्ने सञ्चारकर्मीको प्रश्नमा महानिर्देशक पौडेलले अपर्याप्त जनशक्ति तथा प्राविधिक क्षमताको अभाव, कर्मचारीको मिलेमतो, अन्तर निकाय समन्वय अभावलगायतका समस्या रहेको बताउनुभयो । सबै कर्मचारी राम्रा वा सबै नराम्रा छन् भन्ने पक्षमा आफू नरहेको पनि उहाँले स्पष्ट पार्नुभएको थियो ।

खुला सीमा अर्को चुनौती रहेको उहाँको भनाइ थियो । भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउन धातु एक्स–रे मेसिन खरिद आवश्यक रहेको पौडेलले बताउनुभएको थियो । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा निकै कम कर्मचारी रहेको उल्लेख गर्दै उहाँले समग्र निगरानी संयन्त्रमै समस्या रहेको भएको थियो । समग्र शासन प्रणाली सुधार भए भन्सार प्रणाली पनि क्रमशः सुधार हुनेमा उहाँको जोड थियो । भन्सारका कामकाजलाई विस्तारै कागजरहित बनाउँदै लगिएको पौडेलको भनाइ छ । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार सेवा दिन विभाग तयार रहेको उहाँले बताउनुभएको थियो ।

पछिल्लो समय समग्रमा आर्थिक क्रियाकलाप खुम्चिँदा र व्यापार साघुरिँदा भन्सार राजस्व घटेको उहाँको भनाइ छ । साताव्यापीरुपमा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै विभागले अन्तर्राष्ट्रिय भन्सार दिवस साताव्यापीरुपमा मनाउने भएको छ । विभागले आज आर्थिक पत्रकारसँग अन्तक्रिया गरेको थियो । आज नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा, माघ ९ गते नेपाल समुद्रपार निकासी पैठारी सङ्घको आयोजनामा, माघ १० गते नेपाल चेम्बर अफ कमर्सको आयोजनामा र माघ ११ गते नेपाल उद्योग परिसङ्घको आयोजनामा अन्तक्रिया गरिने जनाइएको छ ।

त्यस्तै देशभरका विभिन्न भन्सार कार्यालयले व्यवसायी तथा सरोकारवालासँग अन्तक्रिया, खेलकुदलगायत विविध कार्यक्रम, रक्तदानलगायत कार्यक्रम गर्नेछन् । अन्तर्राष्ट्रिय भन्सार दिवस मूल समारोह समितिको आयोजनामा माघ १२ गते विभागमा विशेष कार्यक्रम आयोजना गरिने जनाइएको छ ।



322 Views

Comments