संयुक्त राष्ट्रसंघ महासचिवद्वारा मध्य अफ्रिकी गणतन्त्रमा शान्ति सैनिक हत्याको निन्दा

२ माघ, २०८०,१६:३३

संयुक्त राष्ट्रसङ्घ, २ माघ, (रासस-सिन्ह्वा) -

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघ शान्ति मिसनका एकजना क्यामेरोनियन शान्ति सैनिकको हत्याको निन्दा गर्नुभएको छ । महासचिवका प्रवक्ताले ओहाम-पेन्डे प्रान्तमा भएको बम आक्रमणमा अन्य पाँच जना शान्ति सेना घाइते भएको र ती मध्ये दुई जना गम्भीर घाइते रहेको उल्लेख गर्नु भएको छ । महासचिवले पीडित परिवार र क्यामरुन सरकारप्रति गहिरो समवेदना व्यक्त गर्नु भएको छ। प्रवक्ता स्टेफेन दुजारिकले विज्ञप्ति जारी गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

महासचिवले संयुक्त राष्ट्रसंघ शान्ति सैनिकहरूलाई लक्षित गरी आक्रमण गरिनु अन्तरराष्ट्रिय कानून अन्तर्गत युद्ध अपराध हुन सक्ने भन्दै सम्बन्धित सबै पक्षलाई स्मरण गराउनु भएको छ । उहाँले मध्य अफ्रिकी गणतन्त्रका अधिकारीहरूलाई यस आक्रमणका दोषीहरूलाई पहिचान गरी न्यायको दायरामा ल्याउन कुनै कसर बाँकी नराख्न समेत विशेष आग्रह गर्नु भएको छ ।



267 Views

Comments