एसिया कप : नेपाल भारतसँग पराजित

२६ मंसिर, २०८०,१५:४६

२६ मङ्सिर, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मा जारीे एसिसी उन्नाइस वर्षमुनि (यु–१९)को एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा आज भएको खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ । नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

आजको जितसँगै भारतले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । भारतले अफगानिस्तानलाई सात विकेटले हराएको थियो भने पाकिस्तानसँग भने आठ विकेटले पराजित भएको थियो । आजको खेलमा नेपालले भारतलाई जितका लागि ५३ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा भारतले सात दशमलव एक ओभरमा कुनैपनि विकेट नगुमाई पूरा गर्यो । भारतका जितमा आर्सिन कुलकर्नीले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ३० बल खेल्दै पाँच छक्का र एक चौका प्रहार गरे । उसका लागि आदर्श सिंहले १३ रन बनाए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपाल २२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ५२ रनमा समेटिएको थियो । नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खराब ब्याटिङ गरेको नेपालका लागि हेमन्त धामीले सर्वाधिक आठ रन जोडे ।

त्यस्तै दीपक बोहोराले सात, दीपेश कँडेलले चार, आकाश चन्दले अविजित चार तथा सुवास भण्डारी दुई रन बनाए । नेपाललाई सस्तैमा समेट्नेक्रममा भारतका राज लिमबानी एक्लैले सात विकेट लिए । त्यस्तै आरध्य शुक्लाले दुई विकेट लिँदा अरसिन कुलकर्नीले एक विकेट लिए ।



361 Views

Comments