गायक अर्थर गन (दिवेश पोखरेल)लाई सरकारले नेपालको पर्यटन प्रवर्द्धनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । आइतबार..." />
नेपाली पर्यटनका लागि विश्व सद्भावना दूतमा नियुक्तः गायक अर्थर गन

Bhugolpark

७ बैशाख, २०८१,१६:०६

गायक अर्थर गन (दिवेश पोखरेल)लाई सरकारले नेपालको पर्यटन प्रवर्द्धनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री जीवनराम श्रेष्ठले अर्थर गनलाई दूत नियुक्त गरेका हुन् ।  

आफ्नो प्रतिभामार्फत नेपाललाई विश्वमा चिनाउन योगदान दिएको भन्दै मन्त्री श्रेष्ठले गायक पोखरेलले प्राकृतिक सुन्दरता, जैविक तथा सांस्कृतिक विविधताले भरिपूर्ण नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदाको प्रचारप्रसारमा योगदान पुर्‍याउने विश्वास लिए । त्यस अवसरमा मन्त्री श्रेष्ठले अर्थर गनलाई सांगीतिक सफलताको शुभकामना पनि दिएका थिए ।        

अर्थर गनले शनिबारदेखि देशव्यापी कन्सर्ट टुर पनि सुरु गरेका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संगीतमार्फत नेपाली संस्कृति र पर्यटन प्रवर्द्धनमा सघाउने बताएका थिए । यसै साता अमेरिकाबाट आएका उनी अझै एक महिना नेपालमा रहेर कन्सर्ट, सांस्कृतिक र पर्यटन गतिविधिमा सक्रिय हुने भएका छन् ।  

काठमाडौंको रविभवनमा जन्मिएर उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएका दिवेशले सन् २०२० को अमेरिकन आइडलमा प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा उनी फस्ट रनरअप घोषित भएका थिए ।  


135 Views

Comments