राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ मा हुने

२८ बैशाख, २०८१,१७:०२

१७ मंसिर, काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ मा हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ बन्दसूचीमा रहेका व्यक्ति राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवार हुन नपाउने बताएको छ ।

निर्वाचन आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गत आम निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक उम्मेदवार भई बन्दसूचीमा नाम समावेश रहेका व्यक्तिहरू उम्मेदवार हुन नपाउने जनाएको हो ।

आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र सोही दफाहरूको उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने बताए ।

उनले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको समेत जानकारी दिए। स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आगामी पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित मतदाता नामावली उपर दाबी विरोध लगायतका कार्यहरू सोही दिनबाट प्रारम्भ भई पुष २२ गते सम्पन्न हुनेछ र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुने उनले जनाएका छन् । मतदाता नामावली आयोगको वेबसाईट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुनेछ ।

त्यस्तै, पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुनेछ । मनोनयन दर्ता पश्चात उम्मेदवारको विरोधमा उजूरी दिने कार्य पुष २४ गते हुनेछ । मनोनयन पत्र र उजूरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुष २६ गते प्रकाशन हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने कार्य पुष २७ गते सम्पन्न भए पश्चात उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य सोही दिन २ बजे सम्पन्न हुने उनले जनाएका छन् ।

उम्मेदवारलाई निर्वाचन चिन्ह पुष २८ गते १० बजेदेखि १ बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको छ । मतदान कार्य माघ ११ गते बिहान ९ बजेदेखि ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ । मतदान कार्य सम्पन्न भएपछि सोही दिनै मतगणना कार्य हुनेछ आयोगले जनाएको छ ।



205 Views

Comments