दुर्गा प्रसाईँले गरे वसन्तपुरमा दियो बालेर राजतन्त्र फर्काउने घोषणा

१७ मंसिर, २०८०,१२:३६

१७ मङ्सिर, काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिहक बचाउ अभियानको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वसन्तपुरमा दियो बालेर राजतन्त्र फर्काउने घोषणा आइतवार पत्रकार सम्मेलनमार्फत गरेका छन् । उनले मङ्सिर ३० गते भित्र नागरिक सरकार गठन गरी गाँउदेखि केन्द्रसम्म समानान्तर सरकार चलाउने घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा अबको आन्दोलन विकेन्द्रित हुने जानकारी दिदै फागुन १ गतेबाट व्यवस्था परिवर्तनका लागि आफ्नो आन्दोलन निर्णायक हुने बताए । पत्रकार सम्मेलनमा अबको आन्दोलन विकेन्द्रित हुने भन्दै प्रसाईंले फागुन १ गतेबाट व्यवस्था परिवर्तनका लागि आफ्नो आन्दोलन निर्णायक बनाउने बताए । उनले फागुन १ गते वसन्तपुरमा दियो बालेर वैदिक सनातन धर्म सापेक्ष राष्ट्र घोषणा गर्ने पनि दाबी गरे ।

“२०८० साल फागुन १ गते मेचीमा बालेको दियो काठमाडौँको वसन्तपुरमा राजाकै हातबाट बालेर वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र बनाउन यो जनविद्रोहलाई अझ सशक्त बनाउँदै व्यवस्था परिवर्तनका लागि मूर्त रूप दिनेछौँ” भन्दै दुर्गा प्रसाईँले स्वदेश तथा विदेशमा रहेका दाजुभाइ दिदीबहिनीलाई सहयोगका लागि अपिल समेत गरेका छन् ।

उनले अभियानको मुख्य मागमा बैंक तथा लघूवित्त र बीमा कम्पनीलाई राष्ट्रियकरण गर्ने निक्षेपको जिम्मा सरकारले लिनुपर्ने र अति विपन्न गरिबको २० लाख ऋण मिनाह गर्नुपर्ने तथा धितो फिर्ता गर्नुपर्ने रहेका छन् ।

उनले एक हजार र ५ सयका नोटबन्द गर्नुपर्ने राजा जनक र बुद्धको तस्बिर भएका नोट छाप्नुपर्ने लगायतको माग पत्रकार सम्मेलनमा बताए । उनले प्रदेशिक संरचना खारेज, सर्वोच्च अदालतमा एक सय जना न्यायाधीशको नियुक्ति ५० लाख युवालाई स्वदेशमै रोजगारीको व्यवस्था मिलाउने लगायतका माग अघि सारेका छन् ।



356 Views

Comments