इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

२१ बैशाख, २०८१,१४:१७

जेरुसेलम, ७ मङ्सिर (रासस/एएफपी) :

इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने बताएको छ । इजराइलको उक्त भनाइले हमाससँगको युद्ध रोक्नका लागि भएको महत्त्वपूर्ण सम्झौता रोकिएको छ । इजराइलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले हमासद्वारा बन्धक बनाइएका कम्तीमा ५० इजराइली तथा विदेशी बन्धकहरूको रिहाइ अहिले पनि जारी रहेको तर अपेक्षाअनुसार बिहीबार यस्तो नहुने सङ्केत गर्नुभएको छ । “हाम्रा बन्धकहरूको रिहाइका लागि सम्पर्क अगाडि बढेको छ र यो जारी छ”, उहाँले एक विज्ञप्तिमा भन्नुभयो, “रिहाइको सुरुआत पक्षहरूबीचको मूल सम्झौताअनुसार हुनेछ र शुक्रबारभन्दा पहिला हुनेछैन ।”

अर्का इजराइली अधिकारीले युद्धमा अस्थायी रोक बिहीबार पनि सुरु नहुने बताएका छन् । यो ढिलाइ आफ्ना प्रियजनहरूलाई घर फर्केको हेर्नका लागि चिन्तित परिवार र ४७ दिनको युद्ध तथा अभावको समाप्तिका लागि प्रार्थना गरिरहेका २० लाखभन्दा धेरै गाजाबासीहरूका लागि ठूलो झट्का हो । जटिल तथा सावधानीपूर्वक तयार गरिएको सम्झौतामा इजराइल र हमास चार दिने युद्धविराम गर्न सहमत भएका छन् । सम्झौताअन्तर्गत प्यालेस्टिनी लडाकू समूहले अक्टोबर ७ मा गरेको घातक हमलामा बन्धक बनाइएकामध्ये कम्तीमा ५० व्यक्तिलाई रिहा गरिने छ । रिहा गरिएका प्रत्येक १० अतिरिक्त बन्धकका लागि युद्धमा एक अतिरिक्त दिनको ‘विराम’ हुने इजराइली सरकारले एक दस्तावेजमा बताएको छ । रिहाइका लागि तोकिएकामध्ये तीन वर्षीय अबिगैल मोर इदानसहित तीन अमेरिकी रहेका छन् । बदलामा इजराइलले कम्तीमा एक सय ५० प्यालेस्टिनी महिला तथा बालबालिकालाई रिहा गर्नेछ र हप्तौँको बमबारी तथा ठूलो लडाइँपछि घेरामा परेको तटीय क्षेत्रमा थप मानवीय सहायतालाई अनुमति दिनेछ ।

इजराइल, प्यालेस्टिनी लडाकू समूह, कतार, इजिप्ट र अमेरिका सम्मिलित धेरै साताको कुराकानीपछि भएको सम्झौताको कार्यान्वयनमा भएको यो ढिलाइका कारण तत्काल स्पष्ट हुन सकेको छैन । कतारको विदेश मन्त्रालयलका प्रवक्ता माजिद अल–अन्सारीले बिहीबार सम्झौताको कार्यान्वयन ‘जारी रहेको र सकारात्मकरूपमा भइरहेको’ बताउनुभयो । “अबको केही घन्टामा युद्धविराम सम्झौताको टुङ्गो लगाइने छ”, उहाँले भन्नुभयो ।



215 Views

Comments