शिखर सम्मेलनमा एसिया–प्रशान्त सहयोगीका लागि बाइडेन र सीबीच प्रतिस्पर्धा

१ जेष्ठ, २०८१,१४:३७

सान फ्रान्सिस्को, १ मङ्सिर (रासस/एएफपी) :

अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका चिनियाँ समकक्षी सी जिनपिङले बिहीबार सान फ्रान्सिस्कोमा एक शिखर सम्मेलनमा एसिया–प्रशान्त सहयोगीहरूको मन जित्न प्रतिद्वन्द्वी प्रयास गर्नुभएको छ । दुई महाशक्तिबीचको तनाव गर्न दुवै नेताले भेट भएको एक दिनपछि उहाँहरूले त्यस्तो प्रयास गर्नुभएको हो । “हामी कतै जाँदैनौँ”, एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा यस क्षेत्रका २१ मुलुकका लागि अमेरिकी प्रतिबद्धताबारे आश्वस्त पार्ने प्रयास गर्दै सहभागी व्यापारिक नेताहरूलाई बाइडेनले भन्नुभयो । उहाँले सीसँग आफ्नो कुराकानीबाट क्षेत्रीय र वैश्विक लाभ हुने बताउनुभयो । दुवै नेता सैन्यदेखि सैन्य सम्बन्ध पुनःस्थापित गर्न सहमत हुनुभएको छ ।

राष्ट्रपति सीले फेन्टेनल औषधिका लागि चीनमा यसको उत्पादनलाई रोक्ने वाचा गर्नुभयो । “विश्वका दुई ठूला अर्थतन्त्रबीचको स्थिर सम्बन्ध ती दुई अर्थतन्त्रका लागि मात्र नभई विश्वका लागि राम्रो हुन्छ”, बाइडेनले भन्नुभयो । यद्यपि तनाव कम भए पनि बाइडेनले एपेकका २१ मुलुकमध्ये धेरैका लागि बेइजिङको तुलनामा वासिङ्टन राम्रो सहयोगी हुने बताउनुभयो । सीले आफूलाई बुधबार ‘किन हामी प्रशान्तमा यति व्यस्त छौँ’ भनेर सोधेको भन्दै बाइडेनले भन्नुभयो, “मैले भनेँ, किनभने हामी प्रशान्त मुलुक हौँ, हाम्रो कारणले यस क्षेत्रमा शान्ति र सुरक्षा भएको छ, यसले तपाईंलाई विकास गर्न अनुमति दिएको छ, उहाँ असहमत हुनुभएन ।”

क्यानाडाको तटबाट चिली, अस्ट्रेलिया, मलेसिया र रुससम्म फैलिएको विशाल गतिशील क्षेत्रमा प्रभाव हासिल गर्न चीन र अमेरिकाले प्रतिस्पर्धा गरिरहेका छन् । चीनले आफ्नो बेल्ट एन्ड रोड कार्यक्रममार्फत पूर्वाधार र ऋण उपलब्ध गराउँदै आएको छ । त्यसैगरी अमेरिकाले पनि व्यापार र अन्य सम्झौतामार्फत गठबन्धनलाई बलियो बनाउने प्रयास गरिरहेको छ ।



171 Views

Comments