नेपाल मलेसियालाई छ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश

Bhugolpark

१४ कार्तिक, २०८०,१६:४४

१४ कात्तिक, काठमाडौँ । आइसिसी ट्वान्टी- २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत पनि हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले पराजित गरेको थियो । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको मलेसियाले प्रस्तुत गरेको एक सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालको जीतका लागि कुशल मल्लले बिस्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । उनले ३४ मा सात छक्का र दुई चौकासहित ६५ रन बनाए । साथै ओपनर कुशल भुर्तेलले चार छक्का र चार चौकाको सहयोगमा महत्वपूर्ण ४३ रन र आशिफ सेखले दुई छक्का र एक चौकाको सहयोगमा ३२ रन बनाए । त्यसैगरी सन्दीप जोराले १८ र कप्तान रोहित पौडेल र विवेक यादवले दुई-दुई रन बनाए ।

मलेसियाका लागि मोहम्मद अमिरले तीन र पवनदीप सिंहले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३-१३ रन बनाए ।

नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा रोहित पौडेलले एक-एक विकेट लिए । नेपाल प्रतियोगिताको समूह एमा छ । नेपालको समूहमा सिंगापुर, मलेसिया, ओमान छन् भने समूह बीमा संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, बहराइन र कुबेत छन् । नेपालले तेस्रो खेल यही कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।



267 Views

Comments