१३ कात्तिक, काठमाडौँ । आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सिङ्गापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । ओपनर भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ७४ रनको योगदान दिए ।
त्यस्तै रोहित पौडेलले अविजित ३५ रन बनाए । उनले २४ बलमा २ चौका र २ छक्कासहित ३५ रन बनाएका हुन् । नेपालका अर्का ओपनर आसिफ शेख र कुशल भुर्तेलले ९ दशमलव १ ओभरमा ८४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत गरेका थिए । आसिफले २७ रन बनाए । उनले २६ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाएका हुन् । सिङ्गापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले समान एक, एक विकेट लिए । त्यसअघि टस जितेर पहिले व्याटिङ रोजेको सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रनको योगफल बनाएको थियो । सिङ्गापुरका लागि युवा ओपनर रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान दिए । उनले ३० बलमा ९ चौका र १ छक्कासहित ४६ रन बनाएका हुन् ।
त्यस्तै आर्यवीर चौधरीले ३७ रन बनाए । उनले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका हुन् । मनप्रित सिंहले २४ तथा अक्षय पुरीले १३ रन जोडे । नेपालका लागि अभिनाश बोहोराले तीन विकेट लिए भने सन्दिप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई, दुई विकेट लिए । नेपालको दोस्रो पटक ट्वान्टी २० विश्वकपमा छनोट हुने लक्ष्य रहेको छ । यसअघि नेपालले सन् २०१४ मा बङ्गलादेशमा टि ट्वान्टी विश्वकप खेलेको थियो । अब नेपालले आफ्नो दोस्रो खेल भोलि मलेसियासँग खेल्नेछ ।
विभिन्न आठ टोली सहभागी उक्त प्रतियोगितामा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले आगामी सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा संयुक्तरुपमा आयोजना हुने टि २० विश्वकप खेल्न पाउनेछन् । विश्वकपको एशिया छनोटअन्तर्गत समूह ए मा आयोजक नेपालसहित मलेसिया, सिङ्गापुर र ओमान छन् । त्यस्तै समूह बी मा युएई, हङ्कङ, बहराइन र कुवेत छन् ।
हामीले यस खेल हेर्न आएका भगवानरुपी दर्शक संग हाम्रो टिमले सोधेका छौँ के अव एक दशक पछि नेपालले विश्व कप खेल्न पाउँछ भनेर सोध्दा उहाँहरुको जवाफ के आएको छ भने नेपालको खेल एकदमै अगाडी बढी सकेको छ नेपाल ले कुनै पनी हालतमा खेल जित्ने र संसरलाई नेपालीहरुको छ्यमता प्रदर्शन गर्ने कुरा बताएका छन् ।
हामीले अर्को पनि प्रश्न के गरेका छौँ भने नेपाल यदि कुनै पनि परिस्थीतिमा हार्न गयो भने त्यो कुन टिम यानीकी देश हुन सक्छ होला भन्दा युएई नेपालको को लागि बलियो प्रतिश्पर्धी देश हुन सक्छ भन्ने खालको जबाफ दिएका छन् ।
Comments