मस्को, १३ कात्तिक (रासस/एएफपी) :
मुस्लिम बहुल ककेसस गणतन्त्र दागेस्तानमा एक विमानस्थलमा हमला गरेको आशङ्कमा ६० जनालाई पक्राउ गरिएको रुसी प्रहरीले सोमबार बताएको छ । प्रहरीका अनुसार उनीहरूले यहुदी यात्रुहरूमाथि हमला गर्ने प्रयास गरिरहेका थिए । ‘अल्लाहु अकबर’ (ईश्वर सबैभन्दा महान छन्) भन्ने नारा लगाउँदै दर्जनौँ प्रदर्शनकारी आइतबार मखाचकाला विमानस्थलमा ढोका र अवरोधहरू तोडेर धावनमार्गमा आएका थिए । आन्तरिक मन्त्रालयले शान्ति कायम गर्ने प्रयास गर्दा नौ प्रहरी घाइते भएको र तीमध्ये दुई जनालाई अस्पतालमा भर्ना गरिएको बताएको छ । हिंसाका कारण इजराइलले आफ्ना नागरिकहरूको सुरक्षाका लागि रुससँग आग्रह गरेको छ । अमेरिकाले भने ‘यहुदी विरोधी प्रदर्शन’ को निन्दा गरेको छ ।
उडान ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ ले तेल अविवबाट रेड विङ्ग्सको एउटा उडान आइतबार साँझ ७ बजे मखाचकालामा अवतरण भएको सङ्केत दिएको छ । स्वतन्त्र रुसी मिडिया आउटलेट स्रोतका अनुसार उक्त विमान ट्रान्जिटका लागि अवतरण भएको र दुई घन्टापछि पुनः मस्कोका लागि उडान भर्न लागेको थियो । दागेस्तानका गर्भनर सर्गेई मेलिकोभले उक्त घटनामा जिम्मेबार व्यक्तिहरूलाई सजाय दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । दागेस्तानको आन्तरिक मन्त्रालयले पछि ६० जनालाई पक्राउ गरिएको जानकारी दिएको थियो । “हमलामा एक सय ५० भन्दा बढी सहभागी भएको पहिचान भएको छ, तीमध्ये ६० जनालाई पक्राउ गरिएको छ”, मन्त्रालयले सोमबार बिहान एक विज्ञप्तिमा भनेको छ, “अहिले विमानस्थल सुरक्षाकर्मीको पूर्ण नियन्त्रणमा छ ।”
रुसको उड्डयन कार्यालयले सुरुमा नोभेम्बर ६ सम्म विमानस्थल बन्द हुने बताएको थियो तर पछि मङ्गलबार पुनः खोल्ने जानकारी दिएको थियो । आइतबार साँझ इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले एक विज्ञप्तिमा भनेको थियो, “रुसी अधिकारीहरूले सबै इजराइली नागरिक र यहुदीहरूको रक्षा गर्नेछन्, दङ्गाकारीविरुद्ध निर्णायक कारवाही गर्नेछन् र यहुदी तथा इजराइलीहरू विरुद्ध हिंसा भड्काउनेविरुद्ध कारवाही गर्नेछन् भन्नेमा इजराइलको अपेक्षा छ ।”
Comments