हमाससँग १२६ जना बन्धकका रूपमा रहेको इजरायलको दावी

Bhugolpark

३ जेष्ठ, २०८१,१८:१७

जेरुसेलम, २८ असोज (रासस/एएफपी)

प्यालेस्टाइनी लडाकू समूहले आठ दिनअघि घातक आक्रमण गरेयता हमासले १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ । अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा कम्तीमा एक हजार ३०० जनाको मृत्यु भएको र करिब १५० इजरायली र विदेशी बन्धक बनाएको हुनसक्ने अनुमान इजरायली अधिकारीहरूले गरेका थिए । त्यसयता इजरायली बमबारीमा प्यालेस्टाइनी इलाकामा दुई हजार ३०० भन्दा बढीको मृत्यु भइसकेको छ भने दशौं हजार सैनिकहरू आक्रमणको तयारीका लागि गाजाको सीमामा जम्मा भएका छन् ।

सेनाका प्रवक्ता रिचार्ड हेक्टले पनि हमासले एक्कासी गरेको आक्रमणको जवाफमा सुरु गरिएको सैन्य कारबाहीका क्रममा २८६ इजरायली सैनिकको मृत्यु भएको बताएका छन् । इजरायली अधिकारीहरूले दक्षिणी इजरायलमा हमास आक्रमण स्थलबाट शवहरू फेला परेका र पहिचान गरिएकाले ज्ञात बन्धकहरूको सङ्ख्यामा परिमार्जन गरिएको बताएका छन् । हेक्टले एक ब्रिफिङमा १२६ जनालाई हमासले बन्धकको रूपमा लगेको ‘पुष्टि’ भएको बताउनुभएको छ । यो सङ्ख्या शनिबार १२० बाट बढेको थियो र अधिकारीहरूले आगामी दिनहरूमा यो सङ्ख्या परिवर्तन भइरहने चेतावनी दिएका छन् ।

सेनाले गाजामा छापा मार्दा बन्धक बनाइएका केही व्यक्तिको शव फेला पारेको पनि बताएको छ । हमासले इजरायली आक्रमणमा २२ जना बन्धक मारिएको दाबी गर्दै आएको छ । उसले अघोषित इजरायली आक्रमणको जवाफमा बन्धकहरूलाई मार्ने चेतावनी दिएको छ ।



347 Views

Comments