हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान, इन्द्रजात्राको अवधिमा विभिन्न स्थानमा सवारी आवागमन निषेध

Bhugolpark

२३ बैशाख, २०८१,१२:४९

असोज ९, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान १०:३७ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिन्छ । समितिले दिएको साइतमा आज बिहान मानन्धर समूहले इन्द्रध्वजोत्थान गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो ।

इन्द्रध्वजोत्थानका लागि गत भदौ ३१ गते वनयात्रा गरी लिङ्गो काटिएको थियो । यही असोज ६ गते लिङ्गोलाई भोटाहिटीबाट नगर प्रवेश गराइएको थियो । आज लिङ्गोलाई इन्द्रध्वजका रुपमा उठाएपछि इन्द्रजात्राको विशेष चहलपहल हनुमानढोका दरबार क्षेत्रमा सुरु हुन्छ ।

जात्राको मुख्य दिन असोज ११ गते बिहीबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिले इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

इन्द्रजात्राको अवधिमा विभिन्न सडकमा सवारी आवागमन निषेध

येँन्या (इन्द्रजात्रा) को अवधिमा यही असोज ११ गतेदेखि काठमाडौँका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार असोज ११ गते वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।

यसैगरी असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ ।

असोज १५ गते भने वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा सवारी निषेध गरिएको जनाइएको छ । महानगरले काठमाडौँको वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियालाप हिँडेर सञ्चालन गरिने जनाएको छ ।

साथै तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन त्यसमार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पुर्याउनसमेत महानगरपालिकाले सबैमा आग्रह गरेको छ ।



239 Views

Comments