चीनमा यूरोपेली व्यवसायको भविष्यमाथि शङ्का उब्जियो : व्यापार आयुक्त वाल्डिस

Bhugolpark

४ जेष्ठ, २०८१,१६:४५

बेइजिङ, ८ असोज (रासस-एएफपी) :

युरोपेली सङ्घ (ईयू) का व्यापार प्रमुखले सोमबार बेइजिङलाई कडा सुरक्षा कानून र थप ‘राजनीतिकरण’ गरिएको व्यापारिक वातावरणका कारण युरोपेली कम्पनीहरूले आफ्नो दायित्व बुझ्न र चीनमा उनीहरूको भविष्यमाथि प्रश्न उठाउन सङ्घर्ष गरिरहेको बताउनुभएको छ । व्यापार आयुक्त वाल्डिस डोम्ब्रोवस्कीसले युक्रेनमा भएको युद्धका लागि मित्र राष्ट्र रूसको निन्दा गर्न चीनले इन्कार गर्नुले विश्वको दोस्रो ठूलो अर्थतन्त्रका लागि ‘प्रतिष्ठाको जोखिम’ निम्त्याएको बताउनुभएको छ ।

युरोपेली समूह र चीनबीच व्यापार तनाव बढिरहेका बेला उहाँले पारदर्शिता र खुलापन ‘दीर्घकालीन विजयको रणनीति’ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चीन लगानीमा आधारित अर्थतन्त्रमा व्यापक चुनौतीपूर्ण सङ्क्रमणबाट गुज्रिरहेको छ । यसका लागि यो खुला रहन आवश्यक छ ।” ‘ईयू चेम्बर अफ कमर्स’को व्यावसायिक आत्मविश्वास वर्षौंको सबैभन्दा कम स्तरमा रहेको देखिएका एक रिपोर्टपछि डोम्ब्रोवस्कीसको चार दिने भ्रमण शनिबार सुरु भएको हो । ब्रसेल्सले बेइजिङको विद्युतीय कार अनुदानको छानबिन सुरु गर्ने निर्णय पनि गरेको छ ।

यस अनुसन्धानले ईयूले युरोपेली कार निर्माताहरूलाई कम मूल्यमा अनुचित रूपमा बेचिएका सवारी साधनहरूमा दण्डात्मक शुल्कहरू लागू गरेर संरक्षण गर्ने प्रयास गर्न सक्छ । चीनको वाणिज्य मन्त्रालयले ईयूको ‘नग्न संरक्षणवाद’ को निन्दा गरेको छ र यो कदमले ‘चीन–ईयू आर्थिक र व्यापारिक सम्बन्धमा नकारात्मक प्रभाव पार्ने’ बताएको छ । सोमबार डोम्ब्रोभस्कीसले चीन युरोपेली व्यवसायका लागि आकर्षक लगानीको अवसर रहेको बताउनुभएको थियो । “ईयू र चीन दुवैले विश्वका लागि खुला हुँदा धेरै फाइदा उठाएका छन्,” उहाँले भन्नुभयो ।

“यदि शर्तहरू सही रहेमा युरोपेली कम्पनीहरू अझै पनि यहाँ लगानी गर्न चाहन्छन् । चीनमा युरोपेली व्यापारका लागि बढ्दो चुनौतीको अर्थ यो हो कि ‘विगतका दशकहरूमा धेरैले दुबैको जीत हुने सम्बन्धको रूपमा हेरेको कुरा आगामी वर्षहरूमा दुबैको हारमा परिणत हुन सक्छ,” आयुक्तले भन्नुभयो । डोम्ब्रोवस्कीसले भन्नुभयो, “विदेशी प्रतिबन्धहरूको सामना गर्ने उद्देश्यले बनाइएको नयाँ विदेश सम्बन्ध कानून र चीनको कडा जासुसी विरोधी नियमहरूको हालैको परिवर्तन ‘हाम्रो व्यापारिक समुदायको लागि ठूलो चिन्ताको विषय’ हो ।



247 Views

Comments