आत्मघाती आक्रमणमा तेह्र जना मारिए

Bhugolpark

७ आश्विन, २०८०,१६:४६

मोगादिसु, ७ असोज (रासस/ एएफपी):

मध्य सोमालियामा भएको आत्मघाती आक्रमणमा १३ जनाको मृत्युभएको पुष्टि भएको छ भने अन्य ४५ जना घाइते भएका छन् । एक जना आत्मघाती हमलाकारीले विस्फोटक पदार्थले भरिएको ट्रकलाई शनिबार बेलेडवेन सहरको सुरक्षा चौकीमा ठोक्काउँदा भवन भत्किएको छ ।

भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार जारी रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने सुरक्षा अधिकारीहरूले बताएका छन् । एक जना प्रहरी अधिकारीले आइतबार एएफपीलाई बताएअनुसार ज्यान गुमाउनेको सङ्ख्या १३ नाघेको छ तर उनले मृतकको यकिन अङ्क बताउन सकेनन् । विस्फोट भएको ठाउँमा खोजी जारी छ ।

भग्नावशेषबाट शव निकाल्न नरोकिएकाले वास्तविक मृतकको सङ्ख्या बताउन कठिन भएको उनले जनाए । सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदले आक्रमणमा परी ज्यान गुमाएकाहरूका परिवारजनप्रति शोक प्रकट गर्दै आफ्नो सरकारविरुद्ध लागेको अतिवादी समूह अल–शबाब लडाकूहरूलाई परास्त गरेर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “यस्ता घटनाहरूले हामीलाई आतङ्कवादीहरूलाई निर्मूल गर्ने अभियानबाट कहिल्यै रोक्न सक्दैनन्” उहाँले एक विज्ञप्तिमा भन्नुभएको छ ।



201 Views

Comments