ललितपुर महानगरले जावलाखेलमा एरोसान हवको सहकार्यमा सार्वजनिक शौचालय बनाउँने

Bhugolpark

२३ बैशाख, २०८१,१३:११

असोज ७ ललितपुर । ललितपुर महानगरले जावलाखेलमा एरोसान सस्टेनेबल स्थानिटेशन प्रा.लि.को सहकार्यमा सार्वजनिक शौचालय बनाउँने भएको छ ।

समझदारी पत्रमा महानगरप्रमुख चिरीबाबु महर्जन र प्रा.लि.का अध्यक्ष प्रत्युषचन्द्र अमात्यले हस्ताक्षर गर्नुभयो । हस्ताक्षर कार्यक्रमपछि नगर प्रमुख महर्जनले यसअघि एरोसानले निर्माण गरेको शौचालयको प्रशंसा गर्नुभयो । एरोसान हवले मंगलबजार र पाटनढोकामा स्मार्ट सार्वजनिक शौचालय निर्माण गरिसकेको छ ।

ललितपुर महानगरपालिका भित्रका सार्वजनिक स्थलहरूमा महिला तथा फरक क्षमता भएका व्यक्तिमैत्री र सरसफाईको पद्धति अवलम्बन गरी अत्याधुनिक सार्वजनिक शौचालयहरूको निर्माण एवं व्यवसायिक मोडेलद्वारा शौचालयको दिगो व्यवस्थापन र सञ्चालन गर्नुका साथै शौचालयबाट निस्कने दिसाजन्य लेदीलाई पानीको श्रोतमा मिसिनबाट रोक्ने र वातावरण जोगाई सार्वजनिक शौचालयमा आम नगरवासी र आन्तरिक तथा बाहिय पर्यटकहरूको वृद्धि गरी ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने अभियान अन्तर्गत एरोसानले अत्याधुनिक सार्वजनिक शौचालय निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्ने सहमति भएको छ ।

शौचालय फरक क्षमता भएका व्यक्ति, पैदल यात्रु महिला, जेष्ठ नागरिक तथा पर्यटकहरूको सुविधाको लागि शौचालयमा स्वच्छता मापदण्ड कायम गर्ने शौचालयमा दिसाजन्य फोहरको उचित व्यवस्थापनका लागि बायोग्यास प्लान्ट (बायो डाइजेस्टर), सुरक्षा प्रबन्धका लागि सि.सि.टी.भि, आकाशेपानी संकलन प्रणाली र धारामा स्वचालित प्रविधिबाट पानी प्रवाह हुने (सेन्सर) प्रविधि समेत जडान गरी शौचालयको स्वच्छता कायम राख्ने कार्य सुनिश्चितता गरिएको छ ।

ललितपुर महानगरपालिकाको आफ्नो क्षेत्राधिकार भित्र निर्माण तथा सञ्चालन हुने सार्वजनिक शौचालयको व्यवस्थापन मापदण्ड लागू गर्ने र जावलाखेलमा सार्वजनिक शौचालय निर्माणका लागि चाहिने आवश्यक जग्गाको व्यवस्थापन र शौचालय निर्माण तथा व्यवस्थापनका लागि एरोसान हव आवश्यक सिफारिस उपलब्ध गराई सहजिकरण गर्ने तथा शौचालय निर्माणको आवश्यक अनुगमन समेत महानगरपालिकाले गर्ने जनाएको छ । उक्त जग्गामा निर्माण भएको शौचालय १० वर्षका लागि सञ्चालन तथा व्यवस्थापन स्तर उन्नति र मर्मत संभार एरोसान हवले गर्ने भएको छ ।

एरोसान हवले उक्त शौचालयमा वायोग्यास प्रविधि जडान गरी शौचालयबाट उत्पादित ग्यासलाई ईन्धनको रूपमा प्रयोग गरिने र क्याफे सञ्चालन गर्न गराउन सक्नेछ र शौचालयका लागि आवश्यक पानीको व्यवस्थापनमा महानगरले सहजीकरण गर्ने बताइएको छ ।

सम्झौता अवधिभरका लागि शौचालय सञ्चालन तथा व्यवस्थापनको नियमित अनुगमन सुपरिवेक्षण महानगरपालिकाबाट हुने बताइएको छ । जनगुनासो व्यवस्थापनका लागि सम्बन्धित निकायमा समन्वय गर्ने तथा सेवा सुधारका लागि गर्नुपर्ने कार्यहरूका साथै शौचालय सञ्चालन तथा व्यवस्थापनका लागि स्वाभिमानी सरसफाईकर्मी तथा फरक क्षमता भएका व्यक्तिहरूलाई शौचालय सञ्चालनमा परिचालन एरोसान हवले गर्ने भएको छ ।

दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको मिति देखि लागु भई १० बर्षको लागि हुने भएको छ । दुवै पक्षको समझदारीमा १० वर्ष पश्चात सेवाको गुणस्तर र आवश्यक्ताको पहिचान गरी पुनः नविकरण गर्न सकिने जनाएको छ ।

महानगरभित्र निर्माण तथा सञ्चालन हुने सार्वजनिक शौचालयको सेवा गुणस्तर मंगलबजार र पाटनढोका स्थित सार्वजनिक शौचालयको सेवा गुणस्तरको समान वा सो भन्दा माथिल्लो स्तरको हुने कुराको सुनिश्चितता एरोसान हवले गरेको छ ।

समझदारी पत्रमा समावेस भएका विषयमा संशोधन आवश्यक महसुस भएमा दुवै पक्षको सहमतीमा संशोधन हुन सक्ने जनाएको छ ।




288 Views

Comments