प्रधानमन्त्री दाहाल चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम

Bhugolpark

६ आश्विन, २०८०,१४:२१

असार ६, बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि आज चीन आइपुग्नुभएको छ । चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उहाँलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गर्नुभयो ।

सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै न्यूयोर्कबाट यहाँ आइपुग्नुभएको हो ।

प्रधानमन्त्री दाहालले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री दाहालको भ्रमण दलमा परराष्ट्र मन्त्री नाराणप्रकाश साउद र अन्य सदस्यहरु पनि हुनुहुन्छ । प्रधानमन्त्री दाहल सो सहरमा आयोजना गरिएको १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनुहुने कार्यक्रम छ ।

त्यसैगरी हाङ्गजाउमा नै प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सि चीनफिङसँग भेटवार्ता गर्नुहुने छ । उहाँहरू बीच सो सहरमा उच्चस्तरीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । प्रधानमन्त्री दाहल उक्त कार्यक्रमपछि चीनको राजधानी सहर बेइजिङ आउनुहुने छ । बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम छ । उक्त भेटावार्तापछि प्रधानमन्त्री दाहालले चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नुहुनेछ ।

सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनुहुनेछ । महानगरपालिकाले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेकाले सो विषयमा अध्ययन अवलोकन गर्नुहुने कार्यक्रम छ । यस भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री दाहलले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्नुहुने कार्यसूची छ । यसैगरी उहाँले चीनस्थित नेपाली राजदूताबासले आयोजना गर्ने चीन-नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नुहुने छ ।

सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरुको सहभागिता रहने छ । सो अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै लगानी प्रवर्द्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिने छ । सम्मेलनमा सहभगिताका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा नेपालका उद्योगी व्यवसायीहरु पनि यहाँ आइपुग्नुभएको छ ।

त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानुहुने छ । तिब्बतमा रहँदा पनि उहाँले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कनुहुने कार्यक्रम छ ।



249 Views

Comments