अन्तर्राष्ट्रिय शान्ति दिवसमा शान्तिको अपिलसहित प्रदर्शन

Bhugolpark

३ जेष्ठ, २०८१,१३:५४

असोज ४, लुम्बिनी । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा आज रुपन्देहीमा शान्तिको अपिलसहित प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीले ‘हिंसाको भविष्य छैन, शान्तिको विकल्प छैन’, ‘संक्रमणकालीन न्याय पीडितमैत्री र मानवअधिकारमैत्री बनाउ’, ‘मानवता विरुद्धको अपराधमा संलग्नलाई उन्मुक्ति नदेउ’, ‘सत्य निरुपण गरी पीडितलाई न्याय देउ’ लगायतका प्लेकार्डसहित अपिल गरेका थिए ।

प्रदर्शनपछि शान्ति समाजका निवर्तमान अध्यक्ष गोविन्द खनालले द्वन्द्वमा बाल सैन्य प्रयोग हुनुका साथै गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका घटना भएका प्रमाणित भइसकेकाले त्यस्ता घटनाका दोषीलाई उन्मुक्ति दिन नहुने बताउनुभयो ।

अन्तर्राष्ट्रिय मानवीय कानुन अनुसार बाल सैन्य प्रयोग गर्नु युद्ध अपराध भएकाले सरकारले उन्मुक्ति दिएमा अन्तर्राष्ट्रिय जगतले अस्वीकार गरी हस्तक्षेप गर्ने उहाँको भनाइ थियो । सङ्क्रमणकालीन न्यायलाई निष्कर्ष दिने भनी सरकारले अगाडि बढाएको विधेयकले गम्भीर प्रकृतिका मानवताविरुद्धका अपराधमा संलग्नलाई आम माफी दिने र पीडितले न्याय नपाउने अवस्था रहेकाले यो स्वीकार्य नहुने खनालले बताउनुभयो ।

कार्यक्रममा शान्ति समाज रुपन्देहीका अध्यक्ष कृष्ण भट्टराईले विश्वमा शान्ति कायम गर्न युवाहरुको भूमिका सशक्त हुनुपर्नेमा जोड दिनुभयो । शान्ति समाज रुपन्देहीले आयोजना गरेको कार्यक्रममा स्थानीय विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधीहरुको सहभागिता थियो ।



221 Views

Comments