आज गणेश चतुर्थी र ऋषिपञ्चमी पर्व मनाइँदै

Bhugolpark

२ आश्विन, २०८०,१२:०४

असोज २, काठमाडौँ  । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजाआराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाउनुभयो ।

यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् । मङ्गल चतुर्थीसमेत भनिने यो पर्व आज भने मङ्गलबार नै परेको छ । यो पर्वलाई नेवार समुदायले भने चथा नाममा मनाउँछन् ।

ऋषिपञ्चमी पर्व मनाइँदै

आज ऋषिपञ्चमी पर्व नेपाली नारीहरूले सप्तऋषिको पूजा गरी मनाइउँदै छन् ।

प्रत्यक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन ऋषिपञ्चमी पर्व मनाइँन्छ । आज विहान १० बजेर ४९ मिनेटमा चतुर्थी तिथि सकिएपछि ऋषिपञ्चमी तिथि सुरु हुने भएकाले ऋषिपञ्चमीका ब्रतालुले सप्तऋषिको पूजा शास्त्रीय नियम रहेको छ ।

यो पर्वमा महिलाहरू बिहानै उठेर नित्यकर्म गरी नजिकको नदि खोला ताल तलैया र पोखरीमा गएर ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । स्नानपछि अत्र, दौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गरिन्छ ।

ऋषिपञ्चमीको दिन सप्तऋषिको पूजा आराधाना गर्नाले परिवारको बल्यान हुने धार्मिक विश्वास पाइन्छ । यही विश्वासका साथ काठमाडौँको गौरीघाटमा स्नान र पूजा गर्नेहरूको भिडलाग्ने गर्दछ ।

यस अवसरमा आज काठमाडौँको टेकु मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा गर्ने श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । केही महिलाहरूले भने घरमै सप्तऋषिको पूजा आराधाना गर्ने गर्दछन् ।


246 Views

Comments