साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा

Bhugolpark

२१ बैशाख, २०८१,११:३४

भदौ २८, काठमाडौँ । साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा गरिएको छ । काठमाडौँको धापासीस्थित ‘ह्वाइट माउन्टेन स्कुल’मा आयोजित एक कार्यक्रममा उक्त उपन्यासबारे परिचर्चा गरिएको हो । प्रा डा शैलेन्दुप्रकाश नेपाल तथा साहित्यकार, समालोचक ज्ञानु अधिकारीले विद्यार्थी र शिक्षकमाझ उपन्यास ‘अक्कर’बारे परिचर्चा गर्नुभएको हो ।

प्रा डा नेपालले अक्कर उपन्यास सामाजिक र पारिवारिक विषय वस्तु समेटिएको उत्कृष्ट कृति भएको बताउनुभयो । उहाँले भन्नुभयो– “उपन्यास पढ्दै गर्दा त्यसभित्र मैले आफूलाई भेटे, उपन्यासमा गाउँ-ठाउँ र शहरबीचको यथार्थ तथा फरकपनलाई देखाइएको छ । गाउँलाई बाहिरबाट हेर्दा दुःख देखिन्छ । तर आन्तरिक रूपमा गाउँ निकै खुसी छ, शहर बाहिरबाट हेर्दा खुसी र सुखी देखिए पनि दुःखी छ ।” पुस्तक सरल र सहज भएकाले पाठकले सजिलै बुझ्ने उहाँको भनाइ छ । उपन्यासको समिक्षा गर्दै साहित्यकार तथा समालोचक अधिकारीले पुस्तक पढ्दा साहित्य र शब्दमाथि गर्व लागेको बताउनुभयो । उहाँले भन्नुभयो– “प्रकृति र परिवेशको उत्कृष्ट चित्रणले उपन्यास सुन्दर बनेको छ, यो पढ्दा चलचित्र हेरेको अभास हुन्छ ।”

उपन्यासमा पुरूष पात्रलाई केन्द्रमा राख्नु सकारात्मक र अन्य उपन्यासभन्दा फरक पाटो भएको अधिकारीको भनाइ छ । कार्यक्रममा प्रा डा गोविन्द भट्टराईले उपन्ँयास र त्यसका लेखक तिमिल्सिनाको खुलेर प्रशंसा गर्नुभयो । उहााले उपन्यास पठनयोग्य र उत्कृष्ट भएको उल्लेख गर्नुभयो । उपन्यास परिचर्चामा सहभागीले यसमा कल्पनाभन्दा यथार्थ विषय वस्तु बढी समेटिएकाले त्यसमा निबन्धको भाव झल्किएको बताए । सो अवसरमा उपन्यासका लेखक तिमिल्सिनाले उपन्यासका कथावस्तु, परिवेश २०२८ सालतिरको भएको बताउनुभयो ।

पूर्वी पहाडबाट तराईका उर्वर भू–भाग तथा सुगम सहर हुँदै व्यक्रि कसरी अवसरको खोजिमा आइपुग्छन्लगायत घटनालाई आधार बनाएर उपन्यास लेखिएको उहाँ बताउनुहुन्छ । पुराना र नयाँ पुस्ताका विषयवस्तु समेटिएकाले आफ्नो उपन्यास सबै वर्गका पाठकका लागि पठनीय भएको तिमिल्सिनाको भनाइ छ ।

सामाजिक तथा पारिवारिक विषयवस्तु समेटिएको ‘अक्कर’ तिमिल्सिनाको चौथो कृति हो । उपन्यासको मूल्य रु २५० रहेको छ । लेखक तिमिल्सिनाको यसअघि ‘पुनर्मिलन’, ‘फूल र काँडा’ र ‘अन्त्यहिन यात्रा’ उपन्यास प्रकाशित भइसकेका छन् । यसका साथै कथा लेखनमा समेत सक्रिय तिमल्सिनाका ‘बैंसको निर्वासित सहर’, ‘अनन्त आकास’ तथा ‘तीन धारा’ कथासङ्ग्रह प्रकाशित भइसकेका छन् ।



175 Views

Comments