नयाँदिल्ली, २२ भदौ (रासस /एएनआई)
भोलि शनिबार र पर्सी आइतबार भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० शिखर सम्मेलनमा चीन र रुसका राष्ट्रपतिको अनुपस्थितिले केही फरक नपार्ने टिप्पणी एक जना पश्चिमा कूटनीतिकज्ञले गरेका छन् ।
भारतका लागि जर्मनीका राजदूत फिलिप एकरम्यानले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङको जी २० शिखर सम्मेलनमा हुने अनुपस्थितिले कुनै फरक नपर्ने बताएका हुन् । एएनआईसँगको अन्तर्वार्तामा राजदूत एकरम्यानले राष्ट्रपति पुटिन अघिल्लो शिखर सम्मेलनमा सहभागी नभकाले यसपटकको उहाँको अनुपस्थितिलाई अचम्म मान्नुपर्ने केही कारण नभएको बताउनुभयो । “चिनियाँ राष्ट्रपति सीको अनुपस्थितिले भने हामी अलिकति विस्मित भयौं तर उहाँको प्रतिनिधित्व चिनियाँ प्रधानमन्त्रीले गर्ने भएपछि यसले खासै फरक पार्दैन,” चिनियाँ धारणा प्रधानमन्त्रीबाट प्रस्तुत हुने उल्लेख गर्दै उहाँले भन्नुभयो ।
एउटा देशको राष्ट्रपतिको अनुपस्थितिले यो शिखर सम्मेलनलाई छायामा पर्न दिननहुनेमा जोड दिदै जर्मनीका राजदूतले जी २० को स्थायी सदस्यताको लागि अफ्रिकी सङ्घलाई आमन्त्रित गर्ने भारतको निर्णयको स्वागत गर्नुभयो । उहाँले युरोपेली सङ्घसँगै अफ्रिकी सङ्घलाई पनि समावेश गर्ने भारतीय प्रयासलाई खुला हृदयले समर्थन गर्ने बताउनुभयो । भारतको अध्यक्षताले जी २० लाई नयाँ उचाइमा पुर्याएको उहाँले उल्लेख गर्नुभयो । शिखर सम्मेलनको पूर्वसन्ध्यामा एक आलेख प्रकाशन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मानव केन्द्रित विश्वविकासमा जोड दिनुभएको छ । उहाँले साझा भविष्यका निम्ति विश्वका सबै मानवबीच एकता हुनुपर्ने, विश्ववासी एक परिवारका रुपमा हातेमालो गर्दै साझा प्रगति र समृद्धि प्राप्तिका लागि अघिबढ्नुपर्नेमा जोड दिनुभएको हो ।
प्रधानमन्त्री मोदीले आर्थिक एवं औद्योगिक रुपमा कम विकसित देशहरूलाई एकैस्थानमा उभ्याउने ‘ग्लोबल साउथ’ को अवधारणा तथा अफ्रिकाका विकासशील मुलुकका सीमान्तकृत आकाङ्क्षालाई मूल प्रवाहमा समाहित गर्न अपरिहार्यं भएको विचार व्यक्त भारतका प्रधानमन्त्रीले दिगो विकासका लक्ष्य प्राप्तिमा भएका प्रगतिबारे जी २० शिखर सम्मेलनमा समीक्षा हुने र लक्ष्यहरूको अक्षरश : कार्यान्वयनका लागि कार्यदिशा निर्धारण गर्ने बताउनुभएको छ ।
Comments