जोहानेसवर्गमा आगलागी :बाह्र बालबालिकासहित छयत्तर जना जले

Bhugolpark

२४ बैशाख, २०८१,१४:४४

जोहानेसवर्ग, १६ भदौ (रासस/एपी) :

दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ७५ जना भन्दा बढीको जलेर ज्यान गएको छभने अन्य ८८ जना घाइते भएका छन् । शुक्रबार दुई जना घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ७६ पुगेको हो । स्वास्थ्यमन्त्री जो पहालाका अनुसार ६२ जनाको शरीर पहिचान गर्न नसकिने गरी जलेकाले डिएनए परीक्षणका निम्ति सम्बद्ध निकायलाई निर्देशन दिइएको पत्रकारहरूलाई बताउनुभएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार २० जना विदेशी नागरिकको पनि मृत्यु भएको छ । कामको खोजीमा दक्षिणअफ्रिका आएका मलावी र ताञ्जानियाका आप्रवासीको मृत्यु भएको जनाइएको छ ।

प्रिटोरियास्थित ताञ्जानियाको उच्चायुक्तको कार्यालयले आफ्नो देशका पाँच जनाको जलेर ज्यान गएको पुष्टि गरेको छ । केही वर्षअघिसम्म शहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रमा रहेको उक्त भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ । सरकारी स्वामित्वको उक्त भवनमा समस्या भएको सन् २०१९ देखि आफूहरूलाई जानकारी रहेको सरकारी अधिकारीहरूले स्वीकार गरेका छन् । घरबारविहीन व्यक्ति कुनै औपचारिक भाडा सम्झौता बिना नै उक्त भवनमा बसेका थिए । दक्षिण अफ्रिकाको संसद्ले घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ ।

प्रहरीले पनि आपराधिक मुद्दा दर्ताको तयारी गरेको छ । यद्यपि कुन निकायलाई विपक्षी बनाइयो भन्नेबारेमा स्पष्ट भएको छैन । बिहीबार घटनास्थलको भ्रमण गर्नुभएका दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले उक्त दुर्घटना आंशिक रूपमा भवन कब्जा गर्ने र घरबारविहीनलाई त्यहाँ बस्न अनुमति दिने आपराधिक तत्वका कारण भएको बताउनुभएको छ । उहाँले महानगरको आवास समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय एवं स्थानीय सरकारलाई संवदेनशील हुन आग्रह गर्नुभएको छ । जोहानेसबर्गको आवास सङ्कट समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाउँदै जोहानेसबर्गका पूर्वप्रमुख हर्मन मशाबाले राष्ट्रपति रामाफोसाको आलोचना गर्नुभएको छ ।

राष्ट्रपतिले यो घटनालाई दुःखदायी भनेरमात्र नपुग्ने भन्दै २५ वर्षदेखि शहरले भोगेको समस्यालाई रातारात सृजना भएझै प्रस्तुत हुनु आपत्तिजनक भएको उहाँले बताउनुभएको छ । दक्षिणअफ्रिकामा घरवारबिहीनहरू विविध कारणले बिग्रेभत्केका तथा राज्यले परित्याग गरेका भवनमा बलपूर्वक बस्ने गरेका छन् । त्यस्ता घर ‘ कब्जा गरिएका भवन’का रुपमा चिनिन्छन् ।



226 Views

Comments