अमेरिकी वाणिज्यमन्त्री र चिनियाँ समकक्षीबीच बेइजिङमा भेटवार्ता

Bhugolpark

१९ बैशाख, २०८१,१४:१०

बेइजिङ, ११ भदौ (रासस-सिन्ह्वा) :

अमेरिकी वाणिज्यमन्त्री जिना राइमोन्डोले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार बेइजिङमा भेटवार्तामा विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच स्थिर सम्बन्ध हुनु ‘अत्यन्त महत्वपूर्ण’ भएको बताउनुभएको छ । वासिङ्टनले बेइजिङसँगको व्यापार तनाव कम गर्न काम गरिरहेका बेला हालैका महिनाहरूमा अमेरिकी अधिकारीहरूले चीनमा गरेको उच्चस्तरीय भ्रमणको शृङ्खलामा एक मन्त्रीका रूपमा उहाँको यो पछिल्लो भ्रमण हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै वर्ष चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने समाचारहरू सार्वजनिक भइरहँदा अमेरिकी बाणिज्य मन्त्रीका रूपमा राइमोन्डोले व्यापार क्षेत्रमा रहेका तनाबलाई कम गर्न चीन भ्रमण गर्नुभएको हो ।

सोमबार बिहान चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओसँग भएको भेटमा राइमोन्डोले दुई देशबीचको आर्थिक सम्बन्ध ‘विश्वकै सबैभन्दा महत्वपूर्ण’ भएको बताउनुभएको छ । “हामी बीच ७०० अर्ब डलरको व्यापार छ र म तपाईसँग सहमत छु कि हामीसँग स्थिर आर्थिक सम्बन्ध हुनु अत्यन्त महत्वपूर्ण छ,”अमेरिकी वाणिज्य मन्त्रालयले मन्त्री राइमोन्डोलाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“यो एक जटिल सम्बन्ध हो; यो चुनौतीपूर्ण पनि छ,” उहाँले वाङसँग भन्नुभयो । उहाँले प्रसङ्गलाई जोड्दै भन्नुभयो, “हामी निश्चित रूपमा केही मुद्दाहरूमा असहमत हुनेछौं, तर मलाई विश्वास छ कि यदि हामी प्रत्यक्ष, खुला र व्यावहारिक छौं भने हामी प्रगति गर्न सक्छौं ।” आइतबार बेइजिङ आइपुगेका राईमोन्डोसँग वाणिज्य मन्त्रालयको अमेरिका तथा ओसियाना विभागका निर्देशक लिन फेङ र चीनका लागि अमेरिकी राजदूत निकोलस बन्र्सले भेटवार्ता गर्नुभएको थियो । सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा पोस्ट गर्दै राइमोन्डोले आफ्नो भ्रमणले सम्बन्धमा नयाँ उर्जा दिनेमा आफु आशावादी रहेको बताउनुभएको छ ।

भ्रमणका क्रममा उहाँले चीनको आर्थिक शक्ति केन्द्र साङ्घाईको पनि भ्रमण गर्ने अमेरिकी वाणिज्य विभागले जनाएको छ । उहाँ बुधवार स्वदेश फर्किने कार्यक्रम रहेको छ । पछिल्लो केही बर्ष यता संयुक्त राज्य अमेरिका र चीनबीचको सम्बन्ध दशकौं यताकै सबैभन्दा तल्लो स्तरमा झरेको छ । वासिङ्टनले राष्ट्रिय सुरक्षाको सुरक्षाका लागि व्यापार प्रतिबन्ध महत्वपूर्ण रहेको बताउँदै आएको छ, तर चीनले यसलाई अमेरिकाले आफ्नो आर्थिक वृद्धिलाई रोक्न खोजेको कदमका रूपमा बुझेको छ ।



118 Views

Comments