प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन

Bhugolpark

४ भाद्र, २०८०,१४:४८

राष्ट्रपतिले प्रधानन्यायाधीशमा उनलाई नियुक्त गर्न भने बाँकी

भदौ ४, काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतले अनुमोदन गरेको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर जवराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको समितिको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमोदन गरेको हो ।

श्रेष्ठले समिति समक्ष १८ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । यसअघि उहाँविरूद्ध परेको उजुरीका विषयमा पनि आजै सुनुवाइ भएको थियो । उहाँविरूद्ध तीनवटा उजुरी परेको थियो । संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिनुभएको थियो । संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गत साउन १८ गते सिफारिस गरेको थियो भने साउन २३ मा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।

श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्ने छन् । २०६१ असोज २० गते डोटीको सिलगढीमा जन्मेका श्रेष्ठ २०३८ सालमा शाखा अधिकृतका रुपमा न्याय सेवामा प्रवेश गरेका थिए ।

उनी २०८१ असोज २० मा ६५ वर्षे उमेरहदका कारण अवकास पाउने छन् । संविधानमा प्रधानन्यायाधीश हुनका लागि कम्तिमा तीन वर्ष न्यायाधीश भएको हुनुपर्ने योग्यता तोकिएको छ ।



586 Views

Comments