मेयर बालेनले गरे एक वर्षमै चमत्कार

Bhugolpark

१ भाद्र, २०८०,१२:४६

पूर्व सचिव भीम उपाद्यायले भूगोल पार्कको प्याटफर्ममा मेयर बालेनको एक वर्षे कार्यसम्पादन कस्तो लाग्यो ? भन्ने विषयमा ओपिनियन पोल (मनमौजी) बनाउँनुभएको थियो ।

भदौ १, काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन शाह मूलधारका राजनीतिक पार्टीहरूको दबदबा चलिरहेको समकालीन राजनीतिलाई चिरेर युवा पुस्ताहरूको स्वतस्फूर्त साथ सहयोगमा ४० लाख जनसंख्या भएको मुलुकको राजधानी काठमाडौँमा मेयर बालेनले ३८.६ % र काठमाडौँमा नै उपमेयरमा सुनीता डंगोलले ५३.२ % मत ल्याइ विजय भएका थिए ।

पेशाले कुशल ईन्जिनियर उनी सोखले र्यापर हुन् । कवि, साहित्य मात्र हैन, अभिनयको रसमा पनि उत्तिक्कै भिजेका छन् । अहिले नै मेयर बालेनलाई अधिकांश मतदाताले समर्थन गरेका छन् वा छैनन् भन्न गाह्रो भए तापनि “मर्निङ सोज द डे” भनेझैँ मेयर बालेनले निडर भएर फुटपाथ व्यवस्थापन, अन्डरग्राउन्ड पार्किङ, सार्वजनिक जग्गा हडपेर बनाइएका संरचना हटाउँने कार्यमा एक वर्षमै चमत्कार गरेका छन् ।

अधिकांश युवापुस्ताको ढुकढुकी काठमाडौंका मेयर बालेन शाहाको एक वर्षे कार्यकालको विषयमा “जनताको अभिमत जस्ताको तस्तै” जनतासामू पुगोस भन्ने हेतुले गत हप्ता मेयर बालेनको एक वर्षे कार्यसम्पादन कस्तो लाग्यो ? भनि पूर्व सचिव भीम उपाद्यायले ओपिनियन पोल बनाउँनुभएको थियो । उक्त ओपिनियन पोलमा २१,५५० भिवर्स रहेका थिए भने २,६५८ जनाले भोटमा सहभागिता जनाउँदै आफ्नो अभिमत व्यक्तगर्नुभएको थियो ।

उक्त पोलको ६ वटा प्रश्नमा भोट गर्नुहुने महानुभावहरूलाई सर्वप्रथम त हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

भूगोल पार्कले काठमाडौंको फोहोर व्यवस्थापन, अध्ययन नगरेरै टुकुचामा उत्खनन्, अन्डरग्राउन्ड पार्किङ, फुटपाथमा व्यवस्थापन, सार्वजनिक जग्गा हडपेर बनाइएका संरचनामा डोजर, सामाजिक सञ्जालमा आलोचना आदि विषयमा संक्षिप्त विचार राख्दै सोही विषयमा मेयर बालेनको एक वर्षे कार्यसम्पादनमा तपाईहरूले गर्नुभएको ओपिनियन पोलको अन्तिम नतिजा जस्ताको तस्तै सार्वजनिक गरेका छौँ ।

फोहोर व्यवस्थापन

आफ्नो घोषणाअनुसार अझै गर्न बाँकी काम मध्येको एक हो, फोहोर व्यवस्थापन । फोहोरलाई काठमाडौंमै व्यवस्थापन गर्ने भनी कुहिने र नकुहिने फोहोरलाई नमिसाउने अभियान चलाएका बालेनले त्यसको पूर्ण रुपमा कार्यन्वयन गराउँन नसके पनि अझै करिव चार वर्षे कार्यकाल बाँकी नै रहेकाले अहिल्यै निराश भई हाल्नुपर्ने देखिदैन् ।

दुई दशकदेखि समाधान हुन नसकेको फोहोर व्यवस्थापनलाई वर्ष दिनमै गर्न कठिन हुने भन्दै मेयर बालेनले अबको चार वर्षभित्र परिणाम देखिने गरी काम गर्ने बताउँदै आएका छन् ।

हामीले यसै विषयमा पहिलो प्रश्न मेयर बालेनले केएमसीको फोहोर व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरेजस्तो लाग्छ ? भनि सोधिएका थियौँ । जसमा ५८.५ % प्रतिशतले लाग्छ,३३.३% प्रतिशतले आंशिक रूपमा लाग्छ ६.४७% प्रतिशतले लाग्दैन र १.७३% प्रतिशतले मलाई थाहा छैन भनि अभिमत दिनुभएको थियो।

अध्ययन नगरेरै टुकुचामा उत्खनन्

टुकुचाको दुवैतर्फ कोरिडोर खोल्ने मेयर बालेनको महत्वकांक्षी योजना सबैभन्दा विवादित बन्न पुग्यो । केही मानिसहरू मेयर बालेनले सही गरे भन्दै स्वतस्फूर्त रुपमा उनलाईं सघाउँन फिल्डमै गए भने केही घरधनी र अधिकारकर्मीहरू टुकुचा सुरुङमार्ग करिब १३० वर्षअघि नै वीरशमशेरको पहलमा बनेको भन्दै कागजी प्रमाणहरू लिएर उच्च अदालत पाटन गए ।

पछि उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले टुकुचा खोला उत्खनन् गर्न नपाउने आदेश दियो ।

हामीले यसै विषयमा दोस्रो प्रश्न मेयर बालेनले टुकुचा खोलाको व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरेजस्तो लाग्छ ? भनि सोधिएका थियौँ । जसमा ३९.८४ % प्रतिशतले लाग्छ,४२.७८% प्रतिशतले आंशिक रूपमा लाग्छ १४.८२% प्रतिशतले लाग्दैन र २.५६% प्रतिशतले मलाई थाहा छैन भनि अभिमत दिनुभएको थियो।

अन्डरग्राउन्ड पार्किङ

अन्डरग्राउन्ड पार्किङका लागि भनेर नक्सा पास गरेका घरमा व्यवसाय गरेको अवस्थामा खाली गरेर पार्किङकै लागि प्रयोग गराउने प्रयास गरे। कतिपय घरमा मेयर आफैँ पुगेर अन्डरग्राउन्ड खाली गराए । सबै ठाउँमा सो कामले पूर्णता नपाए तापनि पूर्व मेयरहरूले गर्न नसकेका कामको सुरुआत हुनु सकारात्मक रहेको छ ।

हामीले यसै विषयमा तेस्रो प्रश्न मेयर बालेन्द्र शाहले सडक पार्किङको समस्या सफलतापूर्वक व्यवस्थापन गरेका छन् ? भनि सोधिएका थियौँ । जसमा ६७.७२ % प्रतिशतले छन्,२५.५८% प्रतिशतले आंशिक रूपमा छन् ६.२१% प्रतिशतले छैनन् र ०.४९% प्रतिशतले मलाई थाहा छैन भनि अभिमत दिनुभएको थियो।

फुटपाथमा व्यवस्थापन र सार्वजनिक जग्गा हडपेर बनाइएका संरचनामा डोजर

मेयरले पैदलयात्रीलाई हिँड्नका लागि बनाइएको बाटोमा राखिएका पसल व्यवसाय हटाएका छन् । त्यसले फुटपाथमा हिँड्नेका लागि सजिलो भएको छ । असन, ईन्द्रचोक, न्युरोड, चाबहिल, गौशाला, नयाँ बानेश्वर, रत्नपार्कलगायत क्षेत्रमा अहिले पैदलयात्रीलाई सजिलो भएको छ ।

सार्वजनिक जग्गा हडपेर बनाइएका संरचना हटाउने काम बालेनको राम्रो कामका रूपमा चर्चामा छ । उनी निर्वाचित भएको केही समयपछि नै सार्वजनिक जग्गा हडपेर बनाइएका संरचना हटाए । जसले गर्दा जडिबुटी, असन, न्युरोडलगायत उपत्यकाका विभिन्न ठाउँहरूमा मानिसहरूलाईं आवागमनमा निक्कै सजिलो भएको छ ।

पसलअगाडि सडक नै ढाकेर सामान राख्नेहरूलाई पनि पसलभित्र मात्र सामान राख्न निर्देशनसहित नियमित अनुगमन गरेको कामलाई पनि स्थानीयले राम्रो कामका रूपमा लिएका छन् ।

हामीले यसै विषयमा चौथो प्रश्न मेयर बालेनले फुटपाथ व्यवसायको समस्यालाई सफलतापूर्वक व्यवस्थापन गरेजस्तो लाग्छ ? भनि सोधिएका थियौँ । जसमा ६२.४९% प्रतिशतले लाग्छ,२५.१७% प्रतिशतले आंशिक रूपमा लाग्छ, ११.१४% प्रतिशतले छैन् र १.२% प्रतिशतले मलाई थाहा छैन भनि अभिमत दिनुभएको थियो।

सामाजिक सञ्जालमा आलोचना

मेयर बालेनले कतिपय अवस्थामा राष्ट्रियताको विषयमा आफू चुपलागेर वस्न नसक्ने बताए । त्यसको ज्वलन्त उदाहरण हो भारतको नयाँ संसद भवनमा टाँसिएको ग्रेटर नेपालको नक्शा ।

भारतीय सिनेमा “आदिपुरुष”मा पनि नेपालकी चेली सीताको चरित्रमा आँच पुग्ने विषय भएको भन्दै केही दिन सम्पूर्ण भारतीय सिनेमा प्रर्दशनमा रोक लगाएका थिए । सो चलचित्रको विषयमा अदालतले भारतीय सिनेमा “आदिपुरुष” चलाउँन आदेश दियो । आक्रोशित बालेनले सरकार र अदालत भारतको गुलाम बन्यो भन्ने अभिव्यक्ति समेत दिए।

त्यसैगरी फोहोरमैला व्यवस्थापन, सुकुम्बासी बस्तीमा डोजर आतङ्क, स्वास्थ्य क्षेत्र आदि विषयमा मेयर चर्चाकै लागि नेपाल सरकारसँग पौठे जोरी खोजेर वास्तविक कामभन्दा स्टन्टमा बढी चासो दिए भन्ने कतिपय जनगुनासो भने सुनिएको छ ।

हामीले यसै विषयमा पाँचौँ प्रश्न मेयर बालेन शाह वास्तविक कामभन्दा स्टन्टमा बढी चासो राख्छन् भन्ने भनाइसँग तपाईं सहमत हुनुहुन्छ ? भनि सोधिएका थियौँ । जसमा १४% प्रतिशतले हो, म सहमत छु,७२.०१% प्रतिशतले होइन, म सहमत छैन्, ११.८१% प्रतिशतले अलिअलि सहमत छु र २.१८% प्रतिशतले मलाई थाहा छैन भनि अभिमत दिनुभएको थियो।

बालेनको कार्यसम्पादन

बालेन निर्वाचित भएपछि उनले निर्वाचनताका जनतासँग गरेको बाचालाई अहोरात्र खटेर उत्कृष्ट भूमिका निर्वाह गरेकाले नै पूर्व मेयरभन्दा आम उपत्यकावासीका नजरमा उनी चर्चाको शिखरमा पुग्न सफल भएका छन् ।

निडर विकासप्रेमी युवा नेता मेयर बालेनले दशकौँ पहिलाका मेयरहरूले गर्न नसकेको काठमाडौंको ट्राफिक व्यवस्थापन होस वा फुटपाथ व्यवसायीको व्यवस्थापन । उनले एक वर्षको छोटो अवधिमा नै दृढ ईछाशक्तिले गर्दा जनताले अनुभूति हुने गरी काम गरे । सार्वजनिक जग्गा हडपेर सडकमा टहरा पसल राख्नेलाई होस वा सार्वजनिक जग्गा हडप्ने भूमाफीयाहरूका घर टहरामा डोजर चलाएर होस् उनीले प्रशंसाका पात्र बने ।

हामीले यसै विषयमा छैटौँ प्रश्न एक वर्षे कार्यसम्पादनका आधारमा मेयर बालेनलाई कति अङ्क दिनुहुन्छ ? भनि सोधिएका थियौँ । जसमा ६१.१७ % प्रतिशतले > ९० (ए), १६.८२% प्रतिशतले ८०-९० (वी), ११.२९% प्रतिशतले ७०-८० (सि), ५.८३% प्रतिशतले ६०-७० (डि) र ४.८९% प्रतिशतले < ६० (एफ) अङ्क दिनुहुन्छ भनि अभिमत दिनुभएको थियो।

धेरैले बालेनले गरेको कामलाई सकारात्मक अंक नै दिएको देखिन्छ । विकासप्रेमि जुझारू युवापुस्त भएकाले प्रोत्साहन पनि गर्नु आवश्यक छ । किनकी, भावी दिनमा धेरै युवाहरूलाई राजनीति गरी देश विकासमा अगाडि बढ्न काठमाडौंका मेयर बालेन प्रेरणाको श्रोत बन्न सक्छन् । यसका अतिरिक्त मेयर बालेनले थालनी गरेका राम्रा कामको बारेमा जानकारी दिन खोजेका छौं ।

मेयर बालेनले थालनी गरेका राम्रा काम :

स्वास्थ्यमन्त्रीलाई अल्टिमेटम, नि:शुल्क एम्बुलेन्स

हालै मात्र उनले विपन्न नागरिकलाई नियमानुसार छुट र सुविधा नदिने अस्पताललाई कारबाही गर्न स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण मात्र गराएनन्, मन्त्रालयले नगरे महानगरपालिकाले आफ्नो हिसाबले कारबाही गर्ने चेतावनीसमेत दिए ।

जनस्वास्थ्यका हकमा कतिपय स्वास्थ्य संस्थासँग सम्झौता गरी बालेनले ज्येष्ठ नागरिकलाई विभिन्न खालका स्वास्थ्य सेवा नि:शुल्क उपलब्ध गराउन थालेका छन् । उनले केही दिनअघि मात्रै काठमाडौं महानगरपालिकाभित्र चौबिसै घण्टा एम्बुलेन्स सेवा नि:शुल्क गर्ने घोषणा गरेका थिए ।

बेथिती र ढिलासुस्तीविरुद्ध बालेन स्वास्थ्य मन्त्रालयसँग मात्रै होइन, फोहोर व्यवस्थापनको विषयमा सहरी विकास, सार्वजनिक जग्गा अतिक्रमणको विषयमा परराष्ट्र मन्त्रालय अनि सुकुम्बासी व्यवस्थापनको विषयमा गृह मन्त्रालयसँग समेत भिडेका थिए । काठमाडौंमा बालेनको उदय भएपछि नै आफ्नो कार्य र क्षेत्राधिकारका लागि सिंहदरबारसँग बारम्बार जुधेको दुर्लभ घटना सम्भवतः यो पहिलो हुनुपर्छ ।

घोषणापत्रमा धमाधम काम गर्दै

मेयर बालेनले आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरिएका विषयहरूलाई क्रमशः कार्यान्वयन गर्दै लगेको देखिन्छ । सवारी व्यवस्थापन, शैक्षिक सुधार, स्वास्थ्य सेवामा नागरिक पहुँच, फोहोर व्यवस्थापन उनका प्रमुख चुनावी एजेण्डा थिए । फोहोरको वैज्ञानिक व्यवस्थापनमा उनले प्रभावकारी काम गर्न नसके तापनि अझैँ उनको कार्यकाल करिव ४ वर्ष बाँकी भएकाले आशा गर्ने ठाउँ भने देखिन्छ । अन्य क्षेत्रमा उनले थोरै भए पनि अनुकरणीय कामहरूको थालनी गरेका छन् ।

शिक्षामा सीप, फ्राइडे बुक फ्री

काठमाडौं महानगरका सामुदायिक माविमा पढाइका साथै सीपमूलक तालिम अनिवार्य, सबै सामुदायिक माविलाई नमुना बनाइने, सार्वजनिक विद्यालयको शौचालय स्तरोन्नति गर्ने, बालबालिकालाई किताबको भारी नबोकाउन लकरको व्यवस्था गरिने, इतिहास, योग, तथा विश्वस्तरमा जोड्न सकिने प्रविधिसहितको शिक्षामा जोड दिने, निजी विद्यालयको पनि अडिट गरिनेजस्ता योजना बालेनले ल्याएका छन् ।

महानगरभित्रका ८९ वटा सामुदायिक विद्यालयमा सीपसहितको शिक्षाको थालनी हुनुलाई धेरैले सकारात्मक मानेका छन् । 'पाइलट प्रोजेक्ट'का रूपमा लिइएको योजनाअनुसार कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई उनीहरूको छनोटअनुसार ९० घण्टाको सीपमूलक तालिम दिइने जनाएको छ ।

मोबाइल एन्ड इलेक्ट्रोनिक्स, प्लम्बिङ, कार्पेन्टर, कृषि, हाउस वाइरिङ, ब्युटिसियन एन्ड हेयर स्टाइलजस्ता दश विधामा विद्यार्थीले रुचिअनुसार तालिम पाउनेछन् । शिवपुरी माध्यमिक विद्यालयमा पाककला र मोबाइल इलेक्ट्रोनिक्स गरी दुईवटा कक्षा सञ्चालनमा छन् । पद्मकन्या विद्याश्रममा विद्यार्थीहरू स्केचिङ र मूर्तिकला, फेसन र कपडा निर्माणजस्ता सीप सिकिरहेका छन् ।

महानगरले हप्ताको एक दिन विद्यार्थीलाई किताबबाहेकका अतिरिक्त गतिविधिमा केन्द्रित गर्ने कार्यक्रम पनि लागू गरेको छ । ‘बुक फ्री फ्राइडे’ कार्यक्रमअन्तर्गत विद्यार्थीहरू पत्रपत्रिका पढ्ने, भाषण गर्ने, कविता लेख्ने अनि वाचन गर्ने, कला तथा खेलकुद, चित्रकला, सर्वेक्षण, विज्ञान प्रयोगशालामा सहभागी भइरहेका छन् । ‘बुक फ्री फ्राइडे’ अन्तर्गत ५६ सामुदायिक विद्यालयमा ‘शिक्षामा सीप’ कार्यक्रमको बालेनले अनुगमनसमेत थालेका छन् । 

घरमा नै बसी सुविधा

सेवा प्रवाहलाई आधुनिक प्रविधिमैत्री बनाउने पहलस्वरुप महानगरले एकीकृत डिजिटल सुशासन प्रणाली केएमसी एप लन्च गरिसकेको छ । यो सेवामार्फत सेवाग्राहीहरूले अनलाइनमार्फत जुनसुकै ठाउँमा बसेर पनि महानगरको सेवा लिन पाउँछन् । विभिन्न बिल भुक्तानीका लागि घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता काठमाडौं महानगरबाट हट्दै गएको देख्न सकिन्छ ।

चुनावअगाडि उनले काठमाडौंका चोकचोकमा सीसी क्यामेरा जडान गर्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार जडान र सञ्चालनका लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएका छन् ।

टाढिएका वडाध्यक्षहरूसँग समदूरी

मेयर निर्वाचित भएको केही समयसम्म वडाध्यक्षहरूसित बालेनको कुरा खासै मिलेको देखिएन । कालान्तरमा बालेन वडाध्यक्षहरूसँगको समन्वय प्रभावकारी बनाउन सफल रहे । महानगरको बैठकलाई प्रत्यक्ष प्रसारण गरेकाले पनि कसैले नियतवश अड्चन खडा गर्न सकेनन् ।

बालेनले पछि वडाध्यक्षहरूको साथ लिएर काठमाडौंभित्र सवारी व्यवस्थापनको काम अघि बढाए । नक्सामा ‘बेसमेन्ट पार्किङ’ देखाएका तर यथार्थमा पसल चलाउन भाडामा दिएका थुप्रै घरहरू थिए । पार्किङ गर्ने ठाउँमा पसल भएपछि सवारी साधनजति सबै सडक किनारमा रोकिन्थ्यो । यसले सहरलाई कुरुप मात्रै बनाएको थिएन, पैदलयात्रीलाई दुर्घटनाको जोखिम पनि बढाएको थियो ।

त्यसैले पहुँचवाला घरपेटीदेखि नाम चलेका व्यवसायीसम्मका घरमा उनले डोजर चलाए । महानगरको यो पहलको परिणाम अहिले नयाँ बानेश्वर, अनामनगर, बागबजार, दरबारमार्गलगायत क्षेत्रका सडकपेटीमा देखिन्छ । पहिलापहिला सडक किनारसँगै मान्छे हिँड्ने गल्लीसमेत सवारी पार्किङले अस्तव्यस्त हुन्थे । अहिले ती क्षेत्रमा जताततै सवारी पार्किङ गरेको देखिँदैन ।

अझै गर्न बाँकी काम

विभिन्न होटल तथा रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयकामा प्रयोग गर्ने योजना

विभिन्न होटल तथा रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक शौचालयका रूपमा प्रयोग गर्ने योजना राम्रो भएर पनि प्रभावकारी कार्यान्वयन भएको हेर्नभने बाँकी नै छ ।

पूर्वाधार एम्बुलेन्स निकाले, ६ महिनामै थन्क्याए 

वर्षौंदेखि थन्किएका पूर्वाधार एम्बुलेन्स बालेनले आफू निर्वाचित भएलगत्तै सञ्चालनमा ल्याए । सडकका खाल्डाखुल्डी पुर्न र भत्केको कालोपत्रे तत्काल मर्मत गर्ने गरी सञ्चालनमा ल्याइएको पूर्वाधार एम्बुलेन्स ६ महिनामै बन्द भयो । बालेनले थालेर बीचमै छोडेकामध्ये पूर्वाधार एम्बुलेन्सको काम पनि एक हो । 

मेयर बालेनको आलोचना

सुकुम्बासी बस्तीमा डोजर

राजनीतिक दलहरूले सुकुम्बासी भोटर भड्किने डरले यसमा गम्भीर भएर काम गरेका छैनन् । अध्ययन आयोगका प्रतिवेदन र सुझावहरूलाई थन्क्याइएका छन् । खासगरी काठमाडौंमा खोला किनारमा बसेका सुकुम्बासीको व्यवस्थापनमा सरकारले सिन्को भाँचेको छैन भन्दा अतिशयोक्ति हुँदैन । यस्तोमा बालेन पर्याप्त तयारी विना नै सुकुम्बासी बस्तीमा डोजर लिएर पसे ।

पर्याप्त तयारी बिना नागरिकको उठिबास लाउन खोजेको भन्दै उनको आलोचना मात्र भएन, सुकुम्बासीहरूले महानगर प्रहरीमाथि आक्रमण नै गरे । सुकुम्बासी व्यवस्थापनको अभियानमा बालेन पूर्णतः चुके । रवि लामिछाने गृहमन्त्री हुँदासमेत सहयोग नपाएकोमा बालेन आक्रोशित भएका थिए । सुकुम्बासीको व्यवस्थापनका लागि बालेनले गरेको प्रयास गलत थिएन । यसलाई अझै परिपक्व तरिकाले गर्न सकिन्थ्यो । संघीय सरकारले साथ दिएको भए परिणाम सकारात्मक हुन सक्थ्यो ।

थापाथलीमा प्रयास असफल भएपछि बालेन गैरीगाउँका सुकुम्बासीमा डोजर लिएर गएका थिए । तर, उच्च अदालतले बिनाकुनै विकल्प सुकुम्बासी नहटाउन आदेश दिएपछि महानगर रोकिनुपर्‍यो ।

फुटपाथ वर्गप्रति निर्मम

बालेनले फुटपाथ खाली गराउने अभियान चलाए । यस क्रममा फुटपाथमा मकैको ठेलादेखि साइकलमा फलफूल बेचेर गुजारा गर्ने सबैको बिल्लीबाठ भयो । विपन्नमाथि क्रूर भएको भन्दै बालेनले चर्को आलोचना खेपे ।

यमबुद्धको सालिक विवाद

आफू निर्वाचित भएको केही महिनापछि बालेनले र्‍यापर स्व. यमबुद्ध (अनिल अधिकारी) को सालिक बनाउने घोषणा गरे । युवापुस्ताका प्रिय र्‍यापरको प्रतिमा बनाउने उनको योजनाको चौतर्फी विरोध भयो । अनि बालेनले आफ्नै खर्चबाट बनाउने उद्घोस गरे । अपरिपक्व मेयर भन्दै आलोचना भयो । पछि उनी सालिक बनाउने अडानबाट पछि हटे ।

इ-स्पोर्ट्सलाई १ करोड छुट्याएकोमा पनि मेयर बालेनको आलोचना भएको थियो ।

 



194 Views

Comments