कोशी प्रदेशको उद्योग राज्यमन्त्रीमा गयानन्द गनगाईं नियुक्त

Bhugolpark

३१ श्रावण, २०८०,१३:२६

साउन ३१,मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज गयानन्द मण्डल गनगाईंलाई प्रदेशको उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री उद्धव थापाको साउन ३१ गतेको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम गनगाईंलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री थापाले आज राज्यमन्त्री गनगाईंलाई प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभयो । शपथग्रहण समारोहमा प्रदेशका मन्त्रीहरू, कर्मचारी, न्यायालयका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

कोशी प्रदेशका सभामुखले राजिनामा दिएर अर्थमन्त्री बनेकाले सो प्रदेशमा सभामुख विहिन भएको छ । सत्तारुढ गठबन्धनले उपसभामुख सृजना दनुवारको राजीनामा आएको खण्डमा कांग्रेसबाट निर्वाचित जेष्ठ सदस्य गनगाईँ मण्डलले  प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्थालाई टार्नका रणनीतिक रुपमा मण्डललाई राज्यमन्त्री बनाएको हो ।



276 Views

Comments