विश्व युवा दिवसमा एरोसान हव अत्याधुनिक सार्वजनिक शौचालय परिसरमा वृक्षारोपण

Bhugolpark

२८ श्रावण, २०८०,११:११

साउन २८, काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको पावन अवसरमा हिजो शनिबार “दिगो लक्ष्य प्राप्तिमा युवाको साथ, नवप्रवर्तन र उघमशीलतामा हरित सीप विकास” नाराका साथ स्वयम्भुको बुद्धपार्क स्थित एरोसानद्वारा सञ्चालित अत्याधुनिक सार्वजनिक शौचालय परिसरमा १५ वडाका वडाध्यक्ष ईश्वरमान डंगोलको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न् भएको छ ।

सो अवसरमा काठमाडौं महानगरपालिका, एरोसान, युवा रेडक्रस सर्कल त्रि–चन्द्र क्याम्पस, परिवर्तक, नमस्ते बागमती तथा गैर सरकारी संस्था गुथिको संयुक्त आयोजनामा सम्पन भएको थियो ।

कार्यक्रममा बोल्दै वडा १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले एरोसान हव स्मार्ट सार्वजनिक शौचालय देशकै नमूना शौचालय रहेको बताउँदै देश विकासका लागि युवाहरूको भूमिका निकै महत्वपूर्ण रहेको र युवाहरूकै केही गरौ भन्ने भावनाले देशमा आमुल परिवर्तन आउन सक्ने धारणा व्यक्त गरे । यस अत्याधुनिक शौचालय निर्माणको क्रममा गरेको संघर्ष र समाजसेवी तथा वातावरणविद स्व. प्रकाश अमात्यको स्मरण गर्दै वडाध्यक्ष डंगोलले स्व. आमात्यको खानेपानी, सरसफाई र वातावरण प्रति रहेको दूर दृष्टिले हाल सार्वजनिक शौचालय प्रति रहेको नकारात्मक सोचलाई परिवर्तन गर्न कोषेढुङ्गा सावित भएको बताए । विश्व सम्पदा क्षेत्रमा रहेको अत्याधुनिक सार्वजनिक शौचालय परिसरमा वृक्षारोपण कार्यक्रमले स्व. अमात्यप्रति सच्चा श्रद्धाञ्जली दिन सकेको अनुभूति आफूलाई भएको पनि वडाध्यक्ष डंगोलले बताए ।

काठमाडौंको सौन्र्दयता बढाउनका लागि हरियाली विकास गर्नु निक्कै आवश्यक रहेको र काठमाडौं महानगरपालिकाद्वारा विभिन्न स्थानहरूमा वृक्षारोपण कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा युवाहरूद्वारा अत्याधुनिक शौचालय परिसरमा आयोजना गरिएको वृक्षारोपण कार्यक्रमले महानगरको सौन्दर्य तथा वातावरणमा थोरै मात्र भए पनि सहयोग भएको सरसफाई क्षेत्रमा आवद्ध रामेश्वर पोखरेलले धारणा व्यक्त गरे ।

खानेपानी तथा सरसफाई र वातावरणको क्षेत्रमा हुने हरेक कार्यक्रमहरुमा त्रि–चन्द्र कलेजका युवाहरूलाई आमन्त्रण गर्न हुने स्व. प्रकाश अमात्यको प्रोत्साहन तथा अभिभाकत्वबाट मार्ग निर्देशित भई जलवायु परिवर्तनका कारण भैईरहेको विभिन्न क्षेतिलाई न्यूनीकरण गर्न सचेतना जगाएको रेडक्रस सर्कल त्रिचन्द्र क्याम्पसकी पूर्व अध्यक्ष प्रतिभा दवाडीले बताइन् ।

खानेपानी तथा सरसफाईको क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल स्व. प्रकाश अमात्यको गहन अध्ययन र अनुसन्धानबाट निर्मित महिलामैत्री, अपाङ्खमैत्री तथा वातावरणमैत्री अत्याधुनिक सार्वजनिक शौचालयहरू हालसम्म ८ वटा एरोसान हव नाममा सञ्चालनमा रहेको एरोसानकी कार्यक्रम अधिकृत अर्चना श्रेष्ठले बताइन् । स्व. अमात्यको अभिभावकत्वको कमि एरोसानलाई सदैव रहने पनि उनले बताइन् ।

काठमाडौं उपत्यका भित्र दिनानुदिन कंक्रिटका घरहरू एत्रतत्र सर्वत्र बन्ने क्रम रोकिएको छैन् । जसले गर्दा एकातिर थोरै भएको बोटविरुवाको पनि तिव्र विनाश भैरहेको छ भने अर्कोतिर बर्षामा परेको पानी जमिन मुनी पुनर्भरण नभइ सिधै ढलबाट नदीमा बगेर खेर गैरहेको छ । उपत्यकाका इनार, ढुङ्गे धाराहरू सुकेर गैरहेका छन् । हामी उपत्यकावासीहरूले आ-आफ्नो गाउँटोलमा वृक्षारोपण गर्न सकेमा थोरै भएपनि कार्बन उत्सर्जन कम गर्न सघाउ पुग्छ जसले गर्दा पर्यावरण सन्तुलनमा टेवा पुग्न जान्छ ।

 

 



281 Views

Comments