राजनीतिमा प्रतिशोध साध्ने प्रवृत्ति राम्रो होइन : नेता कोइराला

Bhugolpark

२७ श्रावण, २०८०,१७:०२

साउन २७, भक्तपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिमा प्रतिशोध साध्ने प्रवृत्ति राम्रो नभएको बताउनुभएको छ । भक्तपुरको कौशलटारमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ ले आज यहाँ आयोजना गरेको क्षेत्रीय सभामा उहाँले राजनीतिमा हुने प्रतिशोधले व्यक्ति मात्रै नभई पार्टी र देशलाई नै क्षति पुर्याउने बताउनुभयो । सुन काण्डका बारेमा बोल्दा सरकारले सांसद सुनिल शर्मामाथि प्रतिशोध साधेको नेता कोइरालाको आरोप थियो ।

प्रतिशोधको भावना सुरू भए राजनीति नै नरहने र त्यसले व्यक्ति, दल र देशलाई क्षति पुर्याउँने उहाँको भनाइ थियो । राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहतमा राख्न नहुने नेता कोइरालाले बताउनुभयो । कार्यक्रममा कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँ, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, कांग्रेस भक्तपुर क्षेत्र नं २ का सभापति ओम श्रेष्ठलगायतले कांग्रेसले जनतासँग भिज्दै विकासको लहर ल्याउनुपर्ने तथा पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।



452 Views

Comments