प्रतिनिधिसभा बैठक अवरुद्ध

Bhugolpark

१९ जेष्ठ, २०८१,१४:०२

साउन २४, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले नाराबाजीसहित संसद् अवरुद्ध गरेको छ । प्रतिपक्षको अवरोधपछि निर्धारित सबै कार्यसूची हटाइएका छन् भने बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । बैठक सुरु हुनासाथ एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले अवैध सुन तस्करी प्रकरणबारे छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको माग रहेको बताउनुभयो । उहाँले आफ्नो भनाइ राखिरहँदा सत्तापक्षका सांसद पनि आफ्नो आसनबाट उठ्नुभएको थियो । सांसद थापा बोलिरहेकै बेला सत्तापक्षका सांसद पनि उठेपछि सभामुख देवराज घिमिरे उहाँहरूलाई बस्न आग्रह गर्नुभएको थियो ।

सत्तापक्षका सांसदले आसन ग्रहण गरेपछि एमालेका सांसदहरुले रोस्टम घेराउ गर्दै नाराबाजी गर्नुभएको थियो । यही साउन २ गते सिनामङ्गलबाट बरामद भएको अवैध सुन भित्रिएको विषयमा छानबिन समिति बनाउनुपर्ने एमालेले माग राखेको छ । बैठकमा सभामुख देवराज घिमिरेले सुन तस्करीसँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल भइरहेको र सदनलाई गृहमन्त्रीले जवाफ दिइसक्नुभएकाले सदन सञ्चालनमा सहयोग गर्न एमाले सांसदहरुलाई आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो , “संसद् जनताका आवाज उठाउने थलो हो । अहिले बाढीपहिरोका घटनालगायत संसद्मा उठाउनुपर्ने अन्य थुप्रै विषय छन् । ”

उहाँले संसद्को नियमित कारबाही अगाडि बढाउन आग्रह गर्नुभए पनि एमाले सांसदले नाराबाजी गर्दै अवरोध कायम राखेपछि आजको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २६ गते शुक्रबार दिनको १ बजे बस्ने छ ।



355 Views

Comments