एनओसी मुख्यालय सातदोबाटोमा दुई दिने प्रशिक्षक प्रशिक्षण सुरु

Bhugolpark

२० श्रावण, २०८०,१६:१७

साउन २०, काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको आयोजना तथा कोरिययन एन्टी डोपिङ एजेन्सी (काडा) को संयोजकत्वमा शनिबारदेखि दुई दिने ‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डीसीओ) को प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । कमिटीको मुख्यालय सातदोबाटोमा सञ्चालन भएको उक्त कार्यक्रम दुई दिन चल्नेछ ।

यो कार्यक्रमपछि अब नेपालमै डीसीओको प्रशिक्षण दिन सकिनेछ । डीसीओ प्रशिक्षक प्रशिक्षण कार्यक्रम भने नेपालमा पहिलो पल्ट हुन लागेको हो । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक समारोहबीच प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभयो । प्रशिक्षक प्रशिक्षणका लागि काडाबाट तीन विशेषज्ञ आउनुभएको छ ।

प्रशिक्षकमा काडाका सीओओ म्युङ सु–किम, किजो हान र मिनजोङ सो रहनु भएका छन् । कार्यक्रममा छ जनाको सहभागिता रहेको छ । सहभागी हुनेमा चिकित्साकर्मीहरू सरोजकृष्ण श्रेष्ठ नबीसमानसिं प्रधान, ज्ञानेन्द्रविक्रम शाह, सुसन बैद्य, असिम सुवेदी र पूजा भण्डारी रहेका छन् । त्यसमध्ये श्रेष्ठ कमिटी अन्तर्गतको मेडिकल कमिसनका प्रमुख पनि हुनुहुन्छ ।

कार्यक्रमका अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदमा एन्टी डोपिङ सम्बन्धी ज्ञानको महत्त्वमा जोड दिनुभएको थियो । यस्तै काडाका सीओओ सु–किमले नेपालमा एन्टी डोपिङ सम्बन्धी प्रशिक्षक तयार हुन लागेकोमा खुसी व्यक्तगर्नु भयो । नयाँ खेलकुद ऐन अनुसार नेपालमा नेपाल एन्टि डोपिङ एजेन्सी (नाडा) गठन हुने क्रममा रहेको छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको यो स्वायत्त निकाय हुनेछ ।



249 Views

Comments