बिहिबार नेप्से ३ अङ्कले वृद्धि भइ २०८९.८४ को विन्दुमा बन्द

Bhugolpark

१८ श्रावण, २०८०,१७:०७

साउन १८, काठमडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । ७ साउनमा आएको मौद्रिक नीतिपछि लगातार घट्दो क्रममा रहेको नेप्से बुधबारदेखि भने घट्न रोकिएर सामान्य वृद्धि भएको थियो । बिहीबार पनि दिनभर उतारचढावका बीच नेप्सेमा सामान्य सुधार देखिएको हो ।

बिहीबार नेप्से ३ अंकले वृद्धि हुँदा २०८९.८४ को विन्दुमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ सहित लघुवित्त, जीवन बीमा लगायतका उपसूचकमा सामान्य वृद्धि हुँदा विकास बैंक, वित्त कम्पनी, होटल तथा पर्यटन, हाइड्रोपावर लगायतका उपसूचकमा भने गिरावट भएको छ ।

बैंकिङ उपसूचक ०.४५ प्रतिशतले बढेको छ भने जीवन बीमा उपसूचक ०.५६ प्रतिशत र व्यापार उपसूचक सर्वाधिक १.८१ प्रतिशतले बढेको छ । यता निर्जीवन बीमा उपसूचक ०.४५ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १.५२ प्रतिशत, हाइड्रोपावर उपसूचक ०.५७ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ०.५८ प्रतिशतले गिरावट भएको छ ।

बजार परिसूचक नेप्सेको गिरावट रोकिएपनि कारोबार रकम भने निरन्तर घट्दो छ । लगातार चौथो दिन पनि कारोबार रकम २ अर्बबाट तल झर्दा बिहीबार पौने २ अर्बमा सीमित भएको हो । ४० हजार ७७४ वटा कारोबारमा ५१ लाख ३० हजार ५२० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ७८ करोड १९ लाखको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ९ करोड २४ लाख रुपैयाँको कारोबार हुँदा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ करोड ५५ लाख र आईसीएफसी फाइनान्सको ५ करोड २ लाखको कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ७६ कम्पनीको सेयरमूल्य बढेको छ । १२ कम्पनीको सेयरमूल्य भने स्थिर छ । बिहीबार कारोबार भएकामध्ये सपोर्ट लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै एनआईबीएल ग्रोथ फण्डको इकाइमूल्य पनि १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।



166 Views

Comments