चितवनको पर्यटन विकासलाई मध्यनजर गर्दै ‘क्यानोपी ब्रिज’ निर्माण गर्छौ - मन्त्री श्रेष्ठ

Bhugolpark

१ श्रावण, २०७९,०६:४९

रत्ननगर । वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले चितवनको पर्यटन विकासको लागि क्यानोपी ब्रिज निर्माण गर्न लागिएको बताएका छन् । सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनले आयोजना गरेको स्वागत कार्यक्रममा उनले क्यानोपी ब्रिज स्थापनाको लागि प्रदेश सरकारले दुई करोड रुपैयाँ विनियोजन गरेको बताए । ‘यो क्यानोपी ब्रिज बाघमारा वनमा निर्माण हुने छ’, उनले भने, ‘यसले चितवनको पर्यटन विकासमा थप टेवा पु¥याउने छ ।’

 

उनले पहिलो चरणमा एक किलोमिटर क्यानोपी ब्रिज निर्माण हुने जानकारी दिए । क्यानोपी पर्यटनको सुरुवात अहिले सम्म नेपालमा नभएको भन्दै उनले सौराहामा पहिलो पटक क्यानोपी पर्यटन सुरु गर्न लागिएको बताए । मन्त्री श्रेष्ठले क्यानोपी पर्यटन विकास गर्ने आफ्नो सपना रहेको बताए । मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०७९/८० लाई घुमफिर वर्षको रुपमा बनाउने बताए ।

 

प्रदेश सरकारले घुमफिर वर्ष घोषणा गरी यसलाई सार्थक बनाउन एक करोड रुपैयाँ विनियोजन गरेको बताए । मन्त्री श्रेष्ठले सौराहामा आयोजना गरिएको हात्ती बनभोजलाई अनावश्यक रुपमा अतिरन्जित बनाउने काम गरिएको बताए । कार्यक्रममा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले पर्यटन उद्योगको विकास गर्न प्रदेश सरकार सचेत रहेको बताए ।

 

कोरोनाले खस्किएको पर्यटन उद्योगलाई पुरानै अवस्थामा फर्काउन व्यवसायी र सरकार मिलेर प्रर्बधनात्मक कार्यक्रम गर्नुपर्ने उनको भनाई छ । रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाले सौराहामा क्यानोपी ब्रिज बनाउने प्रदेश सरकारको योजना स्वागतयोग्य भन्दै सौराहालाई फराकिलो बनाउनु पर्ने बताए । बाघमारा वनका अध्यक्ष जीतु तामाङले क्यानोपी वाकलाई हात्ती सफारीको विकल्पका रुपमा हेर्न नहुने बताए ।

हात्ती सफारीलाई प्राथमिकता दिंदै पर्यटकलाई नयाँ कार्यक्रमको रुपमा क्यानोपी पर्यटनलाई अगाडि बढाउने उनको भनाई छ । कार्यक्रममा चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका पूर्व अध्यक्ष बासु ढुंगाना लगायतले मन्तव्य राखेका थिए । वनका सचिव कृष्ण भट्टले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सीताराम महतोले स्वागत मन्तव्य राखेका थिए ।

 

ई चितवन पोस्ट बाट 

 


285 Views

Comments