आज गुरुपूर्णिमा र व्यास जयन्ती   मनाइँदै

Bhugolpark

१८ असार, २०८०,१०:५५

१८ असार, काठमाडौं ।  गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा र आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाइँदै छ ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने परम्परा रही आएको छ । गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन् ।

व्यास जयन्ती   

आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए ।

पाँचौं वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका थिए ।

भूगोल पार्कको तर्फबाट गुरुपूर्णिमा र व्यास जयन्तीको हार्दिक शुभकामना ! साथै, गुरुजनहरूले देखाएको मार्गदर्शणको सम्पूर्ण चेलाहरूले अनुसरण गर्दै अगाडी बढ्ने भगवानले सबैलाईं सदबुद्धि प्रदान गरुण ।


218 Views

Comments