कोशी प्रदेशमा हिक्मत कार्की नेतृत्वको एमाले सरकार ढल्यो

Bhugolpark

१५ असार, २०८०,१३:४९

असार १५, काठमाडौँ । हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । प्रदेशसभाबाट मुख्यमन्त्री कार्की विश्वासको मत लिन असफल भएपछि उनको सरकार ढलेको हो । कार्कीले प्रदेशसभामा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखेका थिए । प्रदेशसभाको बिहीबार बैठकमा उनले राखेको प्रस्तावमाथि शुक्रबार मतदान भएको थियो ।  

प्रस्तावको पक्षमा ४६ मत पर्‍यो भने विपक्षमा ४३ मत परेको छ । ९३ सदस्यीय प्रदेशसभामा शुक्रबार ८९ सांसद उपस्थित थिए । विश्वासको मत लिन नसके स्वत: मुख्यमन्त्री पदमुक्त हुने संवैधानिक व्यवस्थाअनुसार कार्की पदमुक्त भएका छन् । ‍‍‍

कार्कीको सरकार ढलेसँगै नेकपा एमाले संघ र सबै प्रदेशमा सरकारबाट बाहिर भएको छ । एमालेको सरकार ढले पनि कोशीमा एमाले सबैभन्दा ठूलो दल हो । 

कार्कीको सरकार ढले पनि अर्को सरकार बनाउन एमाले र राप्रपाले सहयोग नगरे समस्या हुने देखिएको छ । त्यसैले कोशीमा अब अर्को सरकार बनाउन निकै कसरत हुने देखिन्छ । कुनै पनि दलको नेतृत्वमा सरकार बन्न नसके कोशी प्रदेशसभा विघटन भई मध्यावधि चुनाव हुनेछ ।



297 Views

Comments