राजस्वपाको पहिलो वर्ष ऊर्जाशील र सौहार्दपूर्ण रह्यो : सभापति लामिछाने

Bhugolpark

२० बैशाख, २०८१,१३:५१

असार ७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताउनुभएको छ । पार्टी स्थापना दिवसका अवसरमा आज केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको एकवर्षे यात्राको समीक्षा गर्दै भन्नुभयो, “यो एक वर्ष अत्यन्त सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रह्यो ।

नेपाली जनताले आशा र भरोसाका रुपमा हेरेको नयाँ सफल पार्टीका रुपमा लिएका छौँ ।” सभापति लामिछानेले पार्टीलाई विस्तार गरेर जनताको विश्वासअनुसार परिणाममुखी बन्नु अबको चुनौती भएको बताउनुभयो । “उपनिर्वाचनसम्म आइपुग्दा आमनागरिकलाई हामी नयाँ पार्टी, नयाँ मान्छे आएको जानकारी भयो”, उहाँले भन्नुभयो, “सम्पूर्ण नागरिकमाझ पुगेर विश्वासलाई मतमा रुपान्तरण गर्न सक्नेगरी सङ्गठन विस्तार गर्नुपर्ने चुनौती छ ।” उहाँले पार्टीले चाहेजस्तो नेतृत्वलाई समावेश गरेर सङ्ख्याका रुपमा मात्र ठूलो नभई आन्तरिक लोकतन्त्रलाई कायम राखेर परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले रास्वपाको संसद्मा भूमिका अझ मर्यादित र सशक्त हुने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । कार्यक्रममा पूर्वबैंकर अनिलकेशरी शाह औपचारिकरुपमा रास्वपा प्रवेश गर्नुभएको छ । उहाँलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।

भूगोल पार्कको दृष्टिकोणमा नेपाली जनताको आशा र भरोसाको केन्द्र बनेको रास्वपाबाट देशमा सुशासन, भ्रष्टचार नियन्त्रण भई देशमा आर्थिक क्रान्तिको नयाँ युग सुरु हुने अपेक्षा गरेका छन् । तसर्थ अरू संसदवादी दलहरूभन्दा पृथक रही नेता तथा कार्यकर्ताहरूले जनअपेक्षाअनुसार काम गर्दै भ्रष्टचारमा शुन्य सहनशीलताको नीति अवलम्वग गर्ने आशा गरिएको छ । देशमा संगठन विस्तार गर्दा देश विकासको भिजन भएका राम्रा मानिसलाई समेटने विश्वास गरिएको छ ।


95 Views

Comments