पार्क निर्माणमा जोड दिँदै अधिकारसम्पन्न वागमती सभ्यता समिति

Bhugolpark

२१ बैशाख, २०८१,१०:३२

जेष्ठ ३१, काठमाडौं । धार्मिक विशेषता रहेको वागमती नदीलाई हिन्दू तथा बौद्धधर्ममा पवित्र मानिन्छ । वागमती नदी किनारमा रहेका केही मन्दिर परिसरमा उद्यान (पार्क) निर्माण हुँदैछन् । उपत्यकाको वातावरण स्वच्छ, पवित्र र सुन्दर तुल्याउने, नदी प्रणालीसँग सम्बन्धित ऐतिहासिक पुरातात्विक एवं सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सम्पूर्ण वागमती सभ्यताको पहिचान एवं जगेर्ना गर्ने उद्देश्य बोकेको अधिकारसम्पन्न एकीकृत विकास समितिले वागमती किनारमा पार्क निर्माणलाई जोड दिँदै आएको छ ।

ललितपुरको ज्वागलमा विसं २०५२ मा स्थापना भएको युएनपार्क हाल अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको स्वामित्वमा छ । रुख भएका कारण हरियाली देखिने युएनपार्क आकर्षक बनाउनका लागि काम भइरहेको छ । युएनपार्कअन्तर्गतको करिब एक हजार पाँच सय ७६ रोपनी जग्गा विसं २०७५ देखि अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको स्वामित्वमा रहेको युएनपार्कसँग सँगै वागमती किनारमा विभिन्न पार्क निर्माण भइसकेको र कुनै निर्माणका क्रममा रहेको सूचना अधिकारी कमल अर्यालले जानकारी दिनुभयो । अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी अर्यालले भन्नुभयो, “वाग्मती करिडोर छेउमा साना–ठूला गरी जम्मा ३१ वटा पार्क छन् ।

हाम्रो स्वामित्वमा भएको केही जग्गा पार्क व्यवस्थापनाका लागि विभिन्न संस्थालाई निश्चित अवधिका लागि दिएका छौँ । उहाँहरूले संस्थागतरूपमा नाम राखेर पार्क निर्माण गर्नुभएको छ ।” अधिकारी अर्यालका अनुसार वागमती नदीको किनारमा पार्क निर्माणका लागि नदीको माटो निकालेर पार्क व्यवस्थापन गरिएको छ । वागमती नदीले माटो बगाएर ल्याउँदा नदीमा माटो थुप्रिएर बाढी पार्क र बस्तीमा पस्छ । नदीको माटो निकालेमा बागमती नदी सलल बग्छ र पार्क र बस्तीलाई पनि जोखिम कम हुन्छ । नदी छेउमा पार्क निर्माण गर्नुले नदी सफा हुन्छ ।

हाल निर्माण भएका पार्कमा टिकटकको व्यवस्था गरिएको छैन । म्युजिक भिडियो सुटिङको लागि मात्र केही सीमित रकम लिने गरिएको छ । पार्क व्यवस्थापनका लागि टिकटको सिस्टमको व्यवस्था गरेमा पार्क अझै राम्रो हुने अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको भनाइ छ । “पार्कमा बिहान र बेलुका मान्छेको भीडभाड हुन्छ ।

बिहान योगा र मोर्निङवाकका लागि मान्छे आउँछन् । आजभोलि त दिउँसो अत्यधिक गर्मी हुने भएकाले गर्मी छल्नका लागि पनि मान्छे पार्कभित्र पस्छन् । अरु बेला भने बेलुकीपख धेरै जना पार्कभित्र घुमिरहेका हुन्छन् । “अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले वागमती करिडोरको छेउमा पार्क मात्र नभई वागमती किनारमा भूकम्पपछि भत्किएका मन्दिर पनि निर्माण गरेको छ । अबको करिब चार वर्षपछि वागमती किनारका पार्क आकर्षक देखिने छन् ।” एकीकृत विकास समितिका इञ्जीनियर असिम अधिकारीले भन्नुभयो ।

वागमती किनारमा निर्माण भएका विभिन्न पार्क निर्माण भइसकेपछि त्यसको राम्रोसँग व्यवस्थापन र संरक्षण गर्नको लागि महानगरपालिकालाई हस्तान्तरण गर्ने अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको भनाइ छ ।



200 Views

Comments