जेष्ठ १८, काठमाडौं । साताको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्सेसहित सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १६.५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से यो साता १८६६ अंकमा बन्द भएको छ । सेन्सेटिभ इण्डेक्स २.१९ अंकले बढेर ३५५.६२ विन्दुमा पुगेको छ। यसअघि साताको कारोबार दिन आइतबार,मंगलबार र बुधबार नेप्से निरन्तर ओरालो लागेको थियो। सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएन ।
आज नेप्से बढेपनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ । आज २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँमा खरिदबिक्री भयो ।
बुधबार २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार बराबरको सेयर कारोबार भएको थियो।आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ६.९४ प्रतिशतले मूल्य बढ्यो ।
यस्तै बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.०८ प्रतिशतले बढ्यो। सनराइज फोकस्ड इक्विटी फन्डको मूल्य सर्वाधिक ६ प्रतिशतले ओरालो लाग्यो । कारोबार रकमका आधारमा प्रभु बैंक लि प्रमोटर सेयर सर्वाधिक बिक्री भयो। सो कम्पनीको २३ करोड २१ लाख मूल्य बढिको सेयर कारोबार भयो ।
यस्तै शिवम् सिमेन्टको ११ करोड र एनआईसी एसिया बैंकको ४ करोड बढि मूल्यको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन् । नन लाइफ इन्स्योरेन्स उपसमूहको सूचक १.९३ प्रतिशतले बढ्यो ।
Comments