टोकियो, १७ जेठ (रासस/एएफपी) ।
प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) ले आज गरेको जासुसी उपग्रह प्रक्षेपणको जापान, दक्षिण कोरिया र अमेरिकाले निन्दा गरेका छन् । यद्यपि प्योङ्याङको परीक्षण दुर्घटनाका कारण असफल भएको छ । जापानले उत्तर कोरियाको उपग्रह प्रक्षेपणको असफल प्रयासबाट संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावहरूको गम्भीर उल्लङ्न भएको उल्लेख गर्दै त्यसको निन्दा गरेको छ ।
“उत्तर कोरियाको उक्त कदमको जापान विरोध र निन्दा गर्दछ,” जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले भनेका छन् । उत्तरकोरियाली अधिकारीहरूका अनुसार प्योङयाङले टोकियोलाई प्रक्षेपणका सम्बन्धमा जानकारी दिएको थियो । जापानका रक्षामन्त्री यासुकाजु हामादाले पत्रकारहरूमाझ भनेका छन्, “हामी यस प्रकारको प्रक्षेपणलाई सहन सक्दैनौँ, चाहे त्यो उपग्रह होस् वा अन्य कुनै चिज, यसले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई उल्लङ्घन गरेको छ । ”
संयुक्त राज्य अमेरिकाले प्रक्षेपणको निन्दा गर्दै प्योङयाङलाई तत्काल उत्तेजक कार्य बन्द गर्न आह्वान गरेको छ । राष्ट्रिय सुरक्षा प्रवक्ता एडम होजले प्योङ्याङ र वासिङ्टनबीचको कूटनीति संवाद बन्द नभएको उल्लेख गर्दै उनले आफू र आफ्ना सहयोगीलाई बचाउन अमेरिकाले सबै आवश्यक उपाय अवलम्बन गर्ने बताएका छन् ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले पनि कदमको निन्दा गर्दै प्योङ्याङको पछिल्लो प्रक्षेपणको निन्दा गर्नुभएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य भूउपग्रहको विकासलाई आफ्नो देशको प्रतिरक्षाको प्रमुख अङ्गको भएको स्पष्ट गर्नुभएको छ । यसअघि उहाँका एक जना वरिष्ठ सैन्य अधिकारीले अमेरिका र दक्षिण कोरियाका विवेकहीन सैन्य गतिविधि निगरानी गर्न बाध्य भएर जासुसी उपग्रह प्रक्षेपण गर्नुपरेको बताएका थिए ।
उत्तर कोरियाको नेशनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (एनएडीए) ले आजको दुर्घटनाबाट पाठसिक्दै चाँडोभन्दा चाँडो अर्को उपग्रह प्रक्षेपण गर्ने बताएको छ । रकेट इञ्जिन प्रणाली र इन्धनका कारण दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख गरेको छ । एरोस्पेस एजेन्सीले स्याटेलाइट प्रक्षेपणमा देखा परेका गम्भीर त्रुटिहरूको विस्तृत अध्ययन गर्ने, तिनलाई हटाउन तत्काल वैज्ञानिक र प्राविधिक उपायहरू गर्ने र विभिन्न भागको परीक्षण गरी जतिसक्दो चाँडो दोस्रो प्रक्षेपण गर्ने बताएको छ ।
यसैबीच, फ्रान्सेली समाचार समिति एएफपीका अनुसार उत्तरकोरियाले अमेरिकी सैन्य गतिविधिलाई सूक्ष्म ढङ्गले निगरानी गर्न यही जेठ २८ भित्रमा आफ्नो जासुसी उपग्रह प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको थियो ।
प्योङयाङको आजको असफल प्रक्षेपणले दक्षिण कोरियाको राजधानी सोलमा हल्लीखल्ली मच्चियोभने जापानमा दक्षिणमा ओकिनावाका बासिन्दालाई सतर्क रहन सुरक्षा चेतावनी जारी गरिएको थियो । सोलमा अराजकता र अन्योल छायो जब मानिसहरू हवाई आक्रमणको साइरनको आवाजबाट ब्यूँझिए र उनीहरूलाई भाग्न तयारीमा जुटे । आपतकालीन सन्देश प्रवाह भएको २० मिनेट पछि मात्र त्यो त्रुटिवश प्रवाह भएको वास्तविकता बाहिर आयो । आजको अफवाहले सुरक्षा सतर्कता प्रणालीप्रतिको विश्वासमा गुमेको ३३ वर्षीया एक गृहिणीले बताएकी छन् । “उत्तरकोरियाले दक्षिणकोरियामा सुरक्षा जोखिम बढाएको छ, यदि भविष्यमा सतर्कता चेतावनी जारी हुँदा त्यसलाई गम्भीरतापूर्वक लिइन्छ वा लिइदैन भन्ने प्रश्न खडा भएको छ,”उनले भनिन् ।
Comments