मुलुकमा सुशासनको यात्रा आरम्भ भएको छ : प्रधानमन्त्री

Bhugolpark

१३ जेष्ठ, २०८०,१३:३४

जेष्ठ १३,काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासनको यात्रा आरम्भ भएको बताउनुभएको छ । काठमाडौँको शङ्खरापुरमा आज आयोजित प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा तथा २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकमा बेथिति र विकृतिका विरुद्ध लड्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “भ्रष्टाचार र विकृतिका विरुद्धमा जनतामा एउटा नयाँ आन्दोलन, संस्कारको सुरुआत हुन थालेको महसुस हुँदैछ । यो युद्धमा मैले पनि हाम फालेको छु । अपमानित र घेराबन्दी गर्ने काम भइरहे पनि त्यसलाई छिचोल्दै यो भूमिकामा आइएको छ । हामीसित चुनौती र अवसर दुवै छन् ।” थुप्रै अप्ठ्यारा एवम् जटिलताबाट देश निर्माण हुने उहाँको भनाइ छ । माओवादीले खेलेको भूमिका र आन्दोलनको इतिहासले विकास गरेको नेतृत्वका कारण आज देशको नेतृत्व गर्न सम्भव भएको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

विचार, वर्ग, राष्ट्र निर्माणका निम्ति सङ्कल्प लिएर अगाडि बढेको उल्लेख गर्दै उहाँले अब ठूलाठूला एक्सन हुने र त्यसको तरङ्ग पनि ठूलै जाने बताउनुभयो । नीति तथा कार्यक्रम पारित गर्नुपर्ने र नागरिकता लगायतका विषयको टुङ्गो लगाउनुपर्ने जिकिर गर्दै प्रधानमन्त्री दाहालले कस्तो जनमत बनाउने भन्ने कुरा प्रेस सेन्टर नेपालको काँधमा रहेको र यसका लागि स्वयम्सेवकका रुपमा नेतृत्वलाई साथ दिन आग्रह गर्नुभयो । उहाँले शङ्खरापुरको विकास गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

स्व कृष्ण सेन ‘इच्छुक’को योगदानको स्मरण गर्दै प्रधानमन्त्री दाहालले सेन बहुआयमिक व्यक्तित्वको धनी र निष्ठावान् व्यक्ति भएको तथा क्रान्तिकारी विचारको पक्षमा रहने एउटा साहित्यिक स्रष्टा नेपाल समाजको प्रेरणाको स्रोत भएको बताउनुभयो । साधारणसभामा प्रेस सेन्टर नेपालका संस्थापक सदस्य, जनप्रतिनिधिमा निर्वाचित सेन्टरका केन्द्रीय सदस्य, घाइते, बेपत्ता, द्वन्द्वपीडित र पत्रकार तथा उत्कृष्ट शाखालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

भूगोल पार्कको दृष्टिकोणमा १७ हजारभन्दा बढि मानिसले जीवन आहुति दिएका माओवादी सशस्त्र द्वन्द्वहोस वा सयौंले शाहदत प्राप्त गरेका मधेश आन्दोलन, त्यो आन्दोलनमा विरगति प्राप्त गरेका विरशहिदलाई स्मरण गर्ने दिन पनि हो । प्रधानमन्त्रीले प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा तथा २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसमा “भ्रष्टाचार र विकृतिका विरुद्धमा जनतामा एउटा नयाँ आन्दोलन, संस्कारको सुरुआत हुन थालेको महसुस हुँदैछ” भनि बोलेको बोलि अव आगामी दिनमा भ्रष्टचारीहरूको सम्पूर्ण फायल खोली कार्वाही गर्ने हिम्मत प्रधानमन्त्री, गृहमन्त्रीलगायत सिङ्गो मन्त्री परिषद्मा हुनुपर्दछ । अन्यथा गत वैशाख १० गतेको उपनिर्वाचनमा दलहरूले व्यहोरेको हार आगामी स्थानीय, प्रदेश र संघमा झन बढेर जाने सुनिश्चत छ ।



142 Views

Comments