हावाहुरीसँगै वर्षा हुन थालेपछि...

Bhugolpark

१० बैशाख, २०८१,११:०२

जेष्ठ ७, फुङ्लीङ । हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन भौँतारिन थाल्छ । उहाँ यसो माथि घरको छानो हेर्नुहुन्छ । छानोदेखि तपतप पानी चुइरहेको हुन्छ । पानीका थोपाले लुथ्रुक भिजेर पानीको थोपा नझर्ने घरको कतै कुना खोज्दाखोज्दै उज्यालो हुन्छ । यो दृश्य हो ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाका लिम्बूको घरको बसाइको अवस्था ।

गाउँपालिकाको प्रशासकीय केन्द्र रहेकै वडामा एक परिवार जीर्ण घरमा जोखिमपूर्णपमा बस्दै आएका छन् । मिक्वाखोला –४ साँबाका स्थानीय लिम्बूको परिवार फुस (खर)ले छाएको चुहिने घरमा जोखिम मोलेर बस्दै आएका हुन् । निकै जीर्ण बनेको घर पुनःनिर्माण गर्ने आर्थिक अवस्था नहुँदा लिम्बूको परिवार जोखिमयुक्त घरमा बस्न बाध्य भएको छ । फुसले छाएको छानो धेरै नै पुरानो भएकाले घामपानी र हावाहुरी छेक्न नसक्ने अवस्थाको जीर्ण घरमा लिम्बूको परिवारको बसोबास रहेको छ ।

झट्ट हेर्दा हालको उक्त संरचनामा मानिसको बसोबास नरहेको अर्थात् पहिले नै छाडिसकेको जस्तो देखिने जीर्ण घरमा लिम्बूको परिवारको बास रहेको छ । लिम्बूको परिवारमा दुई छोरा, दुई छोरी र श्रीमती छन् । परिवारमा छ जनाको सङ्ख्या रहे पनि अधिकांश समय लिम्बूकी श्रीमती रीता र कान्छी छोरी माया लिम्बू बस्दै आएका छन् । दुई दाजु काम वा अन्य सिलसिलामा बाहिरै बस्ने गरेको, दिदी फुपूको घरमा र आफूचाहिँ आमासँगै रहेको १४ वर्षीया माया लिम्बूले बताउनुभयो । बाबु सुरेश गाउँघरतिरै डुलघुम गर्दै घर आउने टुङ्गो नरहने मायाले सुनाउनुभयो । उहाँले यस वर्ष बर्खा नलाग्दै हावाहुरी र पानी पर्न थालेकाले घर चुहिएर बसिनसक्नुरहेको बताउनुभयो । केही ठूलो पानी पर्दा घरभित्र आहाल (पानी जम्ने) हुने र चुल्होमा आगो बाल्नै नमिल्ने अवस्था रहेको छोरी मायाले सुनाउनुभयो ।

“कुनै समय ठूलो पानी परेका बेला रातभर नसुती (जाग्राम) बस्ने गरेका छौँ”, उहाँले भन्नुभयो । गाउँपालिका र वडाका जनप्रतिनिधिले सहयोग गर्ने कुरा के छ ? भन्ने प्रसङ्गमा आफूलाई केही थाहाँ नभएको उहाँले बताउनुभयो । उहाँले घरको एकछेउमा थोरै जस्तापाताले छाएको छाल्की रहेकाले टाउको ओताउने ठाउँ भएको बताउनुभयो । यसरी पानी चुहिएर घर जीर्ण भई दयनीय अवस्थासँगै लिम्बूको परिवारमा दैनिकी चलाउनलाई पनि मुस्किल रहेको स्थानीयले बताएका छन् । घरमुली लिम्बूले आफ्नो घरको व्यवस्थापन गर्नेतर्फ खासै चासो नदिएकाले पनि थप संरचना जीर्ण बन्दै गएको छरछिमेक बताउँछन् । स्थानीय छिमेकीले परिवारमा अभिभावकीय भूमिका निभाउने कार्यमा पनि लिम्बूको कमजोरी औँल्याएका छन् । लिम्बूको घरको दयनीय अवस्थाबारे आफूलाई हालसम्म कुनै जानकारी नै नगराइएको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले बताउनुभयो । उहाँले लिम्बूको घर संरचनाको अवस्था हेरेर तत्काल छानो व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।

साँवाका वडाध्यक्ष सदनकुमार साँवा लिम्बूले फुसको छाना विस्थापन कार्यक्रमअन्तर्गत लिम्बूको नाम पनि सूचिकृत भएको जानकारी दिनुभयो । वडाका १८ परिवारको सूचीकृत भएका नाममा लिम्बूको नाम रहेको वडाध्यक्ष साँवाले बताउनुभयो । सरकारी अनुदान लिने उद्देश्य राखेर कतिपय परिवारले आफ्नो घरको बेवास्ता गर्ने गरेको पाइएको पनि वडाध्यक्ष साँवाको भनाइ छ । उहाँका अनुसार समयमा आफ्नो घर वा संरचनाको सुरक्षाप्रति घरधनीले बेवास्ता गर्दा छाना चुहिएर घर थप जीर्ण बन्ने गरेको पाइएको छ । ढुङ्गा र माटोले बनेको घरको वाल (गारो) धराप हुने गरेको छ भने छानाका डाँडाभाटा, दलिन, सेप्रीमा प्रयोग गरिएका काठहरु मक्काउने गरेका छन् ।



143 Views

Comments