रेशम चौधरीले नागरिक उन्मुक्तिका नेताहरूलाई किन बोलाए डिल्ली बजार ?

Bhugolpark

३ जेष्ठ, २०८०,११:४८

जेष्ठ ३ काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैद सदर गरेसँगै रेशम चौधरीले नागरिक उन्मुक्तिका नेताहरूलाई डिल्ली बजार बोलाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन थापाले चौधरीले सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न बिहान १० बजे डिल्ली बजार कारागार बोलाएको बताए ।

‘फैसला आएपछि उहाँले हामीलाई बोलाउनुभएको छ । १० बजे नेताहरू कारागार जाने कुरा छ,’ थापाले भने, ‘त्यो छलफलपछि सर्वोच्चको फैसला सम्बन्धमा धारणा आउँछ होला ।’

एक नेताहरूका अनुसार डिल्ली बजार भेटमा संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा पनि छलफल हुनेछ ।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीयदलको बैठक पनि आजै बसेर सरकारबारे धारणा बनाउने भएको छ ।

संसदीय दलका नेता घनश्याम चौधरीले बैठक बस्ने कुरा भएको तर समय निश्चित भइनसकेको जानकारी दिए ।

८ प्रहरी र एक नाबालक मारिएको टीकापुर घटनामा रेशम चौधरीलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले जन्मकैद सजाय सदर गरेको हो ।



139 Views

Comments