ज्येष्ठ सदस्यको सभापतित्वमा १० वटा संसदीय समितिको बैठक सुरु

Bhugolpark

२ जेष्ठ, २०८०,१०:११

आम निर्वाचन सम्पन्न भएको पाँच महिनापछि आजबाट संसदीय समितिको बैठक सुरु भएको हो ।

जेष्ठ २,काठमाडौं । गत वैशाख १५ मा गठन भएका प्रतिनिधिसभा मातहतका संसदीय समितिका पहिलो बैठक मंगलबार ९ बजेदेखि सुरु भएका हुन् ।

प्रतिनिधिसभाका संसदीय समितिको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गरेका छन् । सबैजसो संसदीय समितिको कार्यसूचीमा स्वागत र परिचय, समितिको कार्यक्षेत्रका सम्बन्धमा जानकारी र विविध राखिएको छ ।

सार्वजनिक लेखा समितिको बैठक प्रारम्भ भएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । 

समितिहरूको सभापति चयन भई नसकेकाले ज्येष्ठ सदस्यको सभापतित्वमा बैठक सुरु गरिएको हो । लेखा समितिका ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीको सभापतित्वमा बैठक प्रारम्भ भएको छ ।

त्यसैगरी पूर्वाधार विकास समितिको बैठक पनि सुरु भएको छ । सो समितिका ज्येष्ठ सदस्य नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीको सभापतित्वमा पूर्वाधार विकास समितिको बैठक सुरु भएको हो ।

 त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका ज्येष्ठ सदस्य नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद रणेन्द्र बराइलीको सभापतित्वमा बैठक बसेको छ । आजैबाट अन्य समितिका बैठक बस्दैछन् । संयुक्त २ र विषयगत १० गरी १२ वटा समितिहरू छन् ।

त्यसैगरी शिक्षा तथा स्वास्थ्य समितिमा जेष्ठ सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद कालुराम राईको सभापतित्वमा बैठक बसिरहेको छ भने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराको सभापतित्वमा बसिरहेको छ । 



229 Views

Comments