टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदै

Bhugolpark

१ जेष्ठ, २०८०,१०:५३

जेष्ठ १ ,काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमाले सांसद टोपबहादुर रायमाझीलाई आज म्याद थप गरी थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउँदैछ ।

प्रहरीले थुनामा राखेर अनुसन्धान अघि बढाउन रायमाझीलाई अदालतमा उपस्थित गराउन लागेको हो । 

रायमाझीलाईं आइतबार राति पक्राउ पुँजी जारी भएको १२ औं दिनमा नेपाल प्रहरीको विशेष ब्युरोले काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो ।

‘रायमाझी शनिबार काठमाडौं आएको सूचना प्रहरीलाई थियो, प्रहरीले उनलाई बूढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको हो,’ नेपाल प्रहरीका कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी भूपेन्द्र खत्रीले भने । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

रायमाझी २० वैशाखका दिन अर्घाखाँचीको आफ्नै निर्वाचन क्षेत्रमा आयोजित एक विद्यालयको कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुन पुगेका बखत उनीविरुद्ध काठमाडौंमा पक्राउ पुर्जी जारी भएको थियो । उनी सोही दिन अर्घाखाँचीबाट बुटवल हुँदै भैरहवासम्म पुगेको सूचना प्रहरीले पाएको थियो । तर, भैरहवा आएपछि उनी सम्पर्कविहीन हुँदै फरार भएका थिए । प्रहरीले रायमाझी पक्राउ नपरेपछि ७७ वटै जिल्लामा उनलाई नियन्त्रणमा लिन सर्कुलर गरेको थियो ।

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए । 



212 Views

Comments